ज्याक माको महादानः मुलुकभर पठाउँदैछन् कोरोना टेस्ट किट, मास्क

कोरोना भाइरसको महामारीका बेला पनि लोभ त्याग्न नसकेको भन्दै संसारभरका धनीमानीको आलोचना भइरहेको छ। तर, चिनियाँ अर्बपति ज्याक मा भने मनकारी कर्मका कारण वाहवाही बटुलिरहेका छन्।
मा यस्ता उदार र उदाहरणीय धनाढ्य देखिएका छन्, जसले कारोना भाइरस फैलिएका र जोखिममा परेका मुलुकहरुलाई अर्बौँ रुपैयाँबराबरको सहयोग गरिरहेका छन्। महाव्याधि फैलिएका बेला त्यसको परीक्षण र रोकथामका लागि नभई नहुने स्वास्थ्य सामग्री सबै देशमा अभाव छ। माले तिनै सामग्री दान गरिरहेका छन्।
उनले स्थापना गरेको ज्याक मा फाउन्डेसनले हरेक दिन संसारका विभिन्न मुलुकलाई सहयोगको प्याकेज घोषणा गरिरहेको छ।
सो फाउन्डेसनले आइतबार मात्र २४ ल्याटिन अमेरिकी देशलाई सहयोग पठाएको छ। ‘वान वर्ल्ड, वान फाइट’ भन्ने सन्देशसहित फाउन्डेसनले २४ देशलाई २० लाख मास्क, ४० लाख टेस्ट किट, १ सय ४ भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री पठाएको हो।
ती सामग्री अर्जेन्टिना, ब्राजिल, चिली, क्युबा, इक्वेडर, डोमिनिकन रिपब्लिक र पेरु लगायतका देशलाई सहयोग गरेको फाउन्डेसनले उल्लेख गरेको छ।
‘हामी लामो जलयात्रा गरेर सामान पठाउँदै छौँ, हामी हतारमा छौँ, हामी एक हौँ,’ फाउन्डेसनले ट्विटरमा भनेको छ।
ज्याक माले जापानलाई पनि दश लाख मास्क सहयोग गरेका छन्
शनिबार मात्रै फाउन्डेसनले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेको थियो। यी मुलुकलाई १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक केही भेन्टिलेटर र थर्मोमिटर उपलब्ध गराइने उसको भनाइ छ।
यी सामग्री नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलंकाले पाउने छन्। कुन मुलुकलाई कुन सामग्री कति परिमाणमा प्रदान गरिने भन्ने फाउन्डेसनले उल्लेख गरेको छैन।
त्यस्तै, मार्च १८ मा माको फाउन्डेसनले युरोपेली मुलुकलाई सहयोग गरेको थियो।
‘१५ लाख मास्क बेल्जियमको लिइजे एयरपोर्टमा अवतरण गरेको छ,’ फाउन्डेसको ट्विटरमा भनेको छ, ‘यी मास्क फ्रान्स, स्लोभेनिया र बेल्जियमलाई प्रदान गरिनेछ। कोभिड–१९ अझै फैलिदै छ हामीले अझ हतार गर्न आवश्यक छ।’
कोरोना भाइरसबाट धेरै आक्रान्त मुलुकमध्ये एक हो स्पेन। मार्च १७ मा ज्याक मा फाउन्डेसनले स्पेनमा ५ लाख मास्क र अन्य मेडिकल सामग्री बोकेको पानीजहाज चीनको सांघाईबाट पठाएको थियो।
कोरोना भाइरससँग जुध्न उक्त सामग्री पठाइएको बताउँदै फाउन्डेसनले भनेको छ, ‘साथै लडे हामी जित्छौँ।’
कोरोना भाइरस महामारी सुरुमा चीनको हुबेई प्रान्तमा फैलिएको थियो। पछिल्लो समय चीनमा भाइरस नियन्त्रण हुँदै जाँदा यरोपेली मुलुक बढी प्रभावित भएका छन्। इटलीमा भाइरसका कारण मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै भइसकेको छ।
ज्याक माले इटलीलाई पनि सहयोग गरेका छन्।
‘भाइरसभन्दा हामी छिटौं दौडौं,’ भन्ने सन्देशसहित उनले इटालियन रेड क्रसलाई सहयोग हस्तान्तरण गरेको बताएका थिए।
ज्याक मा फाउन्डेसनले अफ्रिकालाई पनि सहयोग गरिसकेको छ। सो महादेशमा रहेका १ अर्ब ३० करोड जनसंख्या कोरोना भाइरसको जोखिममा रहेको भन्दै तिनलाई बेवास्ता गर्न नसकिने माले बताएका छन्।
मार्च १६ मा ५४ अफ्रिकी मुलुकमा २० हजार भाइरस टेस्ट किट, १ लाख मास्क, १ हजार मेडिकलसुरक्षा सामग्री सहयोग गरिएको फाउन्डेसनले जनाएको छ।
त्यस्तै, अफ्रिकी मुलुकलाई सहयोग गर्न क्लिनिकल ट्रिटमेन्टको लागि अनलाइन तालिम पनि दिइने जनाइएको छ।
त्यस्तै, फाउन्डेसनले इथियोपियालाई छुट्टै सहयोग गरेको छ। उसले इथियोपिआलाई ११ लाख टेस्ट किट, ६० लाख मास्क र ६० हजार स्वास्थ्य सामग्री पठाएको जनाएको छ।
यस फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माण गर्न समेत सहयोगका लागि सम्झौता गरेको छ। उसले पिटर डोहेर्टी इस्टिच्युसन फर इन्फेक्सन एन्ड इम्युनिटीलाई ३२ लाख अस्ट्रेलियन डलर सहयोग गर्ने सम्झौता गरेको छ।
को हुन ज्याक मा?
१९६४ सेप्टेम्बर १० मा जन्मेका ज्याक मा विश्वको चर्चित ई–कमर्स कम्पनी अलिबाबाका संस्थापक र पूर्व कार्यकारी अध्यक्ष हुन्। उनलाई मा युन पनि भनेर चिनिन्छ। गरिबीबाट उठेर धनी बनेकाले मात्रै होइन, परोपकारी कदमका कारण पनि उनी परिचित छन्।
उनी चीनका सबैभन्दा धनी व्यक्ति हुन्। उनको सम्पत्ति ४२.३ अर्ब अमेरिकी डलर छ।
उनलाई चिनियाँ अर्थतन्त्रको ग्लोबल एम्बेसडर मानिन्छन्।
सन् २०१७ को ‘संसारका ५० ठूला नेता’को सूचीमा पनि उनी परेका थिए। सन् २०१८ सेप्टेम्बरमा उनले अलिबाबाबाट निवृत्त हुने घोषणा गर्दै विश्वको शिक्षा, मानवीय सहयोग र वातावरणीय क्षेत्रमा काम गर्ने घोषणा गरेका थिए। स्रोतः नेपाल खबर