घरमै बसेका कर्मचारीलाई सरकारले दियो यस्तो निर्देशन
सरकारले अत्यावश्यक सेवा दिने निकायमा कार्यरत बाहेक घरमै बसिरहेका राष्ट्रसेवक कर्मचारीहरू काममा खटाउने भएको छ ।
कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउन प्रभावकारी बनाउन घरमै बसिरहेका सरकारी कर्मचारीलाई १० बुँदे निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै राष्ट्रसेवक कर्मचारीका नाममा निर्देशन दिएको हो ।
निर्देशनमा आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहन, टेलिफोन तथा इन्टरनेटसँग सम्बन्धित सूचना प्रविधिका साधनहरू प्रयोग गरी घरमै बसेर गर्न सकिने कार्यहरू कार्यालय प्रमुख तथा सुपरिवेक्षकसँग समन्वय गरी सम्पन्न गर्न भनिएको छ।
संघीय तथा सामान्य प्रशासन मन्त्रालयले हिजो, २६ चैतमा लेखेको पत्रमा आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहेर टेलिफोन, इन्टरनेटलगायतको प्रविधि प्रयोग गरेर घरबाटै गर्नसक्ने काम गर्न भनेको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारको निर्देशनलाई पालना गर्न परिवारका सदस्य र सम्पर्कमा रहेका व्यक्तिहरूलाई सहजीकरण गर्ने, आफू बसेको ठाउँ वरपर कोरोनाको प्रभावित स्थानबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने नबसेको पाइए वडा कार्यालय, प्रहरी प्रशासनमा खबर गर्न निर्देशन दिएको छ ।