नेपालमा हालसम्म २ हजार ८ सय बढिको कोरोना परीक्षण

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार २३:००
;

नेपालमा हालसम्म  २ हजार ८ सय ९५ जनाको कोरोना परीक्षण भएको छ। कोरोनाको आशंकामा २ हजार ३ सय ८२ जनाको काठमाडौंमा र ५ सय १३ जनाको उपत्यका बाहिर परीक्षण भएको हो । 

कोरोनाको आशंकामा अहिले १ सय ९३ जनाको नमूना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। लगातार पाँचौं दिन  कोरोना भाइरसको नयाँ  संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको जानकारी दिएका हुन्। 

यसैगरी कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा कसैमा पनि कोरोना भाइरस संक्रमण नभेटिएको प्रवक्ता देवकोटाले बताए ।

मुलुकभर हाल ७ हजार ९ सय ४० जना शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। काठमाडौंमा १८ र उपत्यका बाहिर ९९ जनाको आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। 

डडेल्धुरा र बैतडीमा पनि नमूना संकलनका लागि मन्त्रालयले टोली खटाएको र त्यहाँबाट ४ सय बढीको नमूना संकलन गरिनेछ मन्त्रालयले जनाएको छ । 

कोरोना परीक्षणका लागि मन्त्रालयले प्रत्येक प्रदेशमा पाँच हजारका दरले ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) पठाएको छ । बागलुङ, म्याग्दी र पर्वतमा आरडीटी सम्बन्धी तालिम दिएर परीक्षण सुरु गरिएको मन्त्रालयले जनाएको छ। 

विराटनगर, जनकपुर, बुटवल, पाटन लगायतमा रियल टाइम पिसिआरको ठुलो मेसिन जडान गर्ने तयारी सुरु भइसकेको प्रवक्ता देवकोटाले  बताए। 

नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये १ जना निको भइसकेका छन्। अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको डा देवकोटाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*