हेडमाष्टरले राहतको चामल बिक्री जाँदै गर्दा स्थानीयद्वारा नियन्त्रण
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–४ का दुईजना विद्यालयका प्रधानाध्यापकलाई राहतका लागि बाँड्न ल्याईएको चामल बिक्री गरेको आरोप लागेको छ । स्थानीयहरुले प्रधानाध्यापकलाई बिक्री गर्न पुगेको स्थलबाट नै चामलसहित नियन्त्रणमा लिएर प्रहरीको जिम्मा पनि लगाएका छन्।
राहत वितरणका लागि बनाईएको समितिका सदस्यसमेत रहेका आधारभूत विद्यालय जगतपुरका प्रधानाध्यापक महेश परियार र शिक्षक रामनारायण साहलाई स्थानीयले प्रहरीको जिम्मा लागाएको हुन् । सो वडाका विपन्न तथा मजदुरहरुलाई बाँड्न ल्याईएको चामल र दाल त्यहीको राइस मिलमा बेच्न पुगेको स्थानीयको आरोप छ । प्रहरीले पक्राऊ गरेपछि नगरपालिकाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
१५ केजीको ७ बोरा, र १० केजीको ८ प्याकेट चामल, ५० केजी दाल प्रधानाध्यापकले राइस मिलमा बिक्री गर्ने प्रयोजनका लागि त्यहाँ लगेको स्थानीयको दाबी छ ।
स्थानीयले वडा कार्यालयको आफ्नै सुविधासमपन्न भवन हुँदाहुँदै राईस मिलमा चामल लिएर पुग्नु बिक्री प्रयोजन नै भएको आरोप लगाएका छन् । आरोपित प्रधानाध्यापक परियारले मिलमा सुरक्षित तरिकाले राख्नका लागि लगिएको बताउँदै आएका छन् ।