नौ दिनदेखि आइसोलेसनको बास, अझै आएन रिपोर्ट

मकवानपुर । कोरोना परिक्षणको रिपोर्ट नआउदा विगत नौ दिन देखि आइसोलेसनमा नै बस्नु पर्ने बाध्यता सृजना भएको छ । कोरोना संक्रमणको आशंकामा गत जेठ ९ गते देखि हेटौंडाको कर्रा आइसोलेसनमा बस्दै आएका ७ जनाको आज सम्म पनि रिपोर्ट आएको छैन् । रिपोर्ट नआउदा उनिहरु नौ दिन देखि आइसोलेसनमा नै बस्दै आएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा नै कोरोना परीक्षण गर्ने व्यवस्था छ तर उनिहरु जोखिमका बिच नौ दिनदेखि आइसोलेसन र क्वारेन्टाइन बस्दै आएका छन् ।
गत जेठ ९ गते हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा उनीहरुको पीसीआर प्रविधिबाट स्वाब परिक्षण गर्दा प्राविधिक समस्या देखिएको भन्दै थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल पठाइयो तर उनीहरुको रिपोर्ट अझैसम्म पनि आएको छैन् ।
हेटौंडा अस्पतालबाट थप उपचारका लागि काठमाडौं पठाइएको महिलामा कोरोना संक्रमणको पुष्टी भएसँगै उनको उपचारमा संलग्न तीनजना स्वास्थ्यकर्मी, भारतबाट फर्किएका तीनजना र कोरोना संक्रमित गर्भवती महिलाको पतीको कोरोना परीक्षणको रिपोर्ट समयमै नआउँदा उनीहरु नौ दिनदेखि हाल आइसोलेसन र क्वारेन्टाइनमा बसिरहेका छन् ।
आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले हेटौंडामा गरिएको परीक्षणमा स्वाब परीक्षण गर्दा प्राविधिक समस्या देखियो । उनीहरुको रिपोर्ट अनुसार हो ÷होइन भन्न नसक्ने अवस्था भएकोले थप परिक्षणका लागि काठमाण्डौं पठाएको बताए । तर आज सम्म पनि रिपोर्ट आउन नसकेको उनको भनाइ छ ।
सात जना मध्ये भारतबाट फर्किएका तीन जना हेटौंडा–४, स्थित कर्रामा रहेको आइसोलेसन वार्ड, तीन जना स्वास्थ्यकर्मी हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीको क्वारेन्टाइन र एक जना हेटौंडा–१, चौकीटोलस्थित आफ्नै घरमा सेल्फ क्वारेन्टाइन बसिरहेका छन् ।