नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
नेपालमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनकारी दिएका छन् ।
यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए ।
भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो ।
शनिबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो मृत्यु पुष्टि भएको थियो ।
सिन्धुपाल्चोककी २६ वर्षीया सुत्केरी महिलाको बिहीबार मृत्यु भएको थियो । मन्त्रालयले शनिबार उनको मृत्यु कोरोना संक्रमणबाट भएको घोषणा गरेको थियो ।