कोरोना सङ्क्रमणको डरले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, के गर्दैछ सरकार ?

हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार १३:२५
;

काठमाण्डू उपत्यकाभित्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले घरबेटीले घर नआउन दबाव दिएको गुनासो गरेका छन्।

उनीहरूले अस्पतालमै वा अन्यत्र छुट्टै बस्ने व्यवस्था नहुँदा डेरामा जानुपर्ने बाध्यता रहेको तर घरबेटी तथा छिमेकीबाट दुर्व्यवहार समेत खेप्नुपरेको गुनासो गरेका हुन्।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले त्यसबारे लिखित रूपमा नै अस्पताल प्रशासनलाई गुनासो गरेको त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ शिक्षण अस्पताल इकाई समितिका सभापति खलबहादुर क्षेत्रीले बताए।

क्षेत्रीले भने, "त्यस्तो कुराहरू लिखित नै आएपछि हामीले निकाय प्रमुख अगाडि राखेका छौँ। त्यसबारे निर्देशकज्यूसँग पनि कुराकानी भइसकेको छ।"

'अस्पतालमै बस्नूस कि पीसीआर रिर्पोट दिनूस्'

गत साता शिक्षण अस्पतालमा उपचारत बिरामीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि उक्त अस्पताल नजिकै डेरा गरेर बस्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई घरबेटीहरूले घरमा नआउन दबाव दिन थालेको चिकित्सकहरू बताउँछन्।

न्याशनल रेसिडेन्ट डक्टर्स एसोशिएसन शिक्षण अस्पतालका अध्यक्ष डा. अनुप उप्रेतीले भने, "कतिपय स्वास्थ्यकर्मीलाई घरबेटीले 'तपाईंहरू अस्पतालमै बस्नूस्, यहाँ नआउनूस्' भन्ने तथा कतिलाई 'पीसीआरको रिपोर्ट देखाउनूस्' भन्ने गरेको गुनासो आएको छ।"

उनले विशेषगरी आवासीय चिकित्सकहरू, नर्सहरू र अन्य अस्पतालका कर्मचारीले यस्तो समस्या भोगेको जानकारी दिए।

"यो समस्या समाधानका लागि सरकारले अविलम्ब हामीलाई अस्थायी बस्ने व्यवस्था मिलाउनु आवश्यक छ," उनले भने।

नर्सहरूलाई पनि उस्तै

शिक्षण अस्पतालमा कार्यरत नर्सहरूले पनि आफूहरूलाई घरबेटीले घरमा नआउन दबाव दिएको बताए।

आफ्नै घर भएका नर्सहरूलाई पनि टोलका मानिसहरूले "फलानीले रोग लिएर आउने भई" भन्दै दुर्व्यवहार गरेको शिक्षण अस्पतालका नर्सहरूले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै बताए।

शिक्षण अस्पतालकी सहप्राध्यापक डा. मेरिना श्रेष्ठले पनि आवासीय चिकित्सकहरूले दुर्व्यवहार भएको गुनासो गरेको बताइन्।

उनले भनिन्, "घर र टोलछिमेकमा त्यस्तो समस्या भोगेको कुराहरू कतिपयले सुनाउनु भएको छ।"

"तर त्यस्तो समस्या भयो भन्ने कुराहरू सामाजिक सञ्जालमा आएपछि कतिपय होटल व्यवसायीले हामी बस्ने व्यवस्था गर्छौँ भनेर इच्छा पनि देखाउनु भएको छ।"

शिक्षण अस्पतालकै एकजना आवसीय चिकित्सक डा. एलिजा हमालले भने दुर्व्यवहार नभोगे पनि कतिपय चिकित्सकहरू घरमा जाने अवस्था नभएको बताइन्।

उनले भनिन्, "म पनि अस्पताल नजिकै फ्ल्याट लिएर बसेकी थिएँ। तर त्यहाँ साना बालबालिकाहरू छन्। म आफैँलाई पनि त्यहाँ जान मन लागेन त्यसैले म अहिले अस्पतालमा साथीहरूसँग बसिरहेकी छु।"

"यो बेलामा अस्थायी बसोबासको व्यवस्था गरिदिए सबैभन्दा राम्रो हुन्थ्यो।"

दुई खाले समस्या

शिक्षण अस्पतालकै आवासीय चिकित्सक डा. सुमन दाहालले स्वास्थकर्मीहरू अहिले दुई खाले समस्यासँग जुझिरहेको बताए।

उनका अनुसार स्वास्थ्यकर्मीहरूलाई एकखाले घरबेटीहरूले 'अस्पताल गएपछि १४ दिन क्वारन्टीन बस्नुपर्ने किन दिनैपिच्छे घर आउनु भएको' भन्ने गरेका छन्।

त्यस्तै अर्काखाले घरबेटीले 'पीसीआरको रिपोर्ट नेगेटिभ भएको देखाउनुस् नत्र घर नआउनूस्' भन्ने गरेका छन्।

तेस्रो प्रकारका घरबेटीले भने अप्रत्यक्षरूपमा मात्र घर नआइदिए हुन्थ्यो भन्ने गर्छन्।

""

उनी भन्छन्, "अर्को समस्या चाहिँ हामी आफैँलाई पनि धेरै जोखिमयुक्त मानिसहरू वृद्धवृद्धा वा दीर्घरोगी भएका घरमा जान नैतिक सङ्कट छ।"

"नजाउँ अस्पतालमा बस्ने व्यवस्था छैन, जाउँ घरमा जोखिम समूहका मानिसहरू छन्।"

उनले यी सबै समस्याको समाधान गर्न अस्पतालमै बस्ने व्यवस्था गरिनुपर्ने बताए।

विशेष बसोबास उत्तम उपाय

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. बद्री रिजालका अनुसार हालसम्म कुनै पनि चिकित्सकले घरबेटीले आफूलाई घरबाट निकालेको भन्ने औपचारिक जानकारी गराएका छैनन्।

तर व्यक्तिगत कुराकानीमा धेरैले अफ्ट्यारो परेको जानकारी गराएको छन्।

उनले त्यसको समाधानका लागि कोभिड-१९ को उपचारमा खटिनेलाई सरकारी नीति अनुसार अस्पतालमै क्वारन्टीनमा राखिनुपर्नेमा जोड दिए।

अन्यलाई पनि पर्याप्त सुरक्षा सामग्रीको प्रबन्ध गर्नुका साथै अस्थायी बसोबासको व्यवस्था गर्न सकिने उनी बताउँछन्।

"स्वास्थ्यकर्मी सङ्क्रमित भए भने धेरैजना सङ्क्रमित हुन्छन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ। सरकारले पनि त्यसलाई मनन् गरेर व्यवस्थापन गर्नुपर्छ," उनले भने।

चिकित्सकको मनोबल बढाउन पनि बसोबासका लागि विशेष व्यवस्था हुनुपर्ने उनले बताए।

अधिकारीहरू के भन्छन्?

स्वास्थ्यकर्मीहरूले भोगेको समस्याबारे जिज्ञासा राख्दा शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले उक्त विषयलाई अस्पतालले गम्भीर रूपमा लिएको बताए।

उनले भने, "हाम्रा स्वास्थ्यकर्मी र कर्मचारीहरूको पनि दोहोरो कुराकानी छ। मैले कुन कुन घरबेटीले बस्न दिएनन् नाम र ठेगाना दिनु सीडीओलाई एक्सन लिन लगाउनुँछ भन्दा कसैले दिन सकेका छैनन्।"

"एक्सनमा गइदियो भने बस्न पाइदैन भन्ने चिन्ता छ। नजाउ भने पनि समस्या छ।"

उनले शिक्षण अस्पताल आफैँले कुनै 'एक्सन' लिन नसक्ने बताए।

स्वास्थ्यकर्मीको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको र काठमाण्डूका प्रमुख जिल्ला अधिकारीलाई पनि ध्यानाकर्षण गराएको बताए।

काठमाण्डूका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शिक्षण अस्पतालबाट त्यस्तो जानकारी आएको बताए।

""

जनचेतना आवश्यक

उनले भने, "शिक्षण अस्पतालको केसलाई लिएर चाहिँ हामीले जनचेतना जगाउनु पर्ने आवश्यकता रहेको छ।"

"त्यसका लागि मैले सम्बन्धित वडाध्यक्षलाई कुरा गर्ने आश्वासन दिएको छु। त्यस्तै अस्पतालका सबै कर्मचारीको परीक्षण पर्न पनि मैले आग्रह गरेको छु। त्यो प्रमाण देखाएर पनि घरबेटीलाई मनाउन सकिन्छ।"

उनले घरबेटीहरूमा जनचेतना जगाउन र सम्झाउनका लागि प्रहरी र सम्बन्धित पालिका तथा वडाका जनप्रतिनिधिहरूसँग समन्वय भइरहेको जानकारी दिए।

आइतवार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने कार्य नगर्न आग्रह गरे।

उनले त्यस्ता क्रियाकलापप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र त्यस्ता गतिविधि नगर्न अपिल गरे।

स्रोत: विविसी नेपाली 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*