परपुरुषसँगको सम्बन्धमा श्रीमान ‘बाधक’, यसरी गरिन् श्रीमानको हत्या

हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार १५:४५
;

विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आइतबार भएको शंकास्पद मृत्यु अन्ततः हत्यामा परिणत भएको छ ।

दुलालको हत्यामा श्रीमतीकै हात रहेको निष्कर्ष अनुसन्धानमा खटिएको प्रहरीले निकालेको छ । शव भेटिएपछि अनुसन्धान शुरु गरेको प्रहरीले दुलालको हत्या श्रीमती मीना श्रेष्ठकै योजनामा भएको पनि निचोड निकालेको छ ।

प्रहरीले दुलालको हत्याकाबारेमा पत्रकार सम्मेलन गर्दै परपुरुषसँगको सम्बन्धमा श्रीमान वाधक बनेपछि योजनावद्ध रुपमा हत्या गरिएको अनुसन्धानबाट देखिएको जानकारी दिएको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मीनासँगै अर्का युवक ब्रम्हदेव साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साह दुलालले सञ्चालन गर्ने माँ देव पाथीभरा फर्माका पूर्व कर्मचारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका खनारका ३३ वर्षीय दुलाल अचेत भएको भन्दै शनिबार राति करिब ३ बजे श्रीमतीले गोल्डेन अस्पताल पुर्‍याएकी थिइन् । तर अस्पतालले राति नै मृत्यु दुलालको मृत्यु भएको घोषणा गरेको थियो ।

साह र आफ्नी श्रीमतीको अबैध सम्बन्धबारेमा दुलालले केही दिनअघि मात्र थाहा पाएका थिए । त्यसपछि उनीहरुबीच विवाद बढेको थियो । श्रीमानसँग विवाद बढेपछि महिलाकै योजनामा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रहरीले श्रीमतीसहित अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति लहान घर भई हाल विराटनगर बस्दै आएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जनाएका छन् ।

यसरी गरियो हत्या
शनिबार राति दुलालको घरमा औषधि ववसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । दुई जना राति करिब नौ बजे दुलालको डेराबाट निस्किएका थिए । साथीहरु निस्किएपछि दुलाल छुट्टै ओछ्यानमा सुतेका थिए । श्रीमती मीना र ८ वर्षका छोरा अर्को ओछ्यानमा सुतेका थिए ।

सुतेकै बेला दुलालको हत्या भएको प्रहरीको निचोड छ । प्रहरीले हत्यामा प्रयोग भएको डोरी दुलालको घर नजिकै झाडीमा भेटिएको छ । उनको घाँटीमा डोरीले बेरेको निलडाम र निधारमा ठूलो चोट छ । निधारको चोट भने प्रतिकार गर्न खोज्दा खाटमा ठोक्किएर लागेको हुनसक्ने प्ररीको भनाइ छ ।

दुलालकी श्रीमती मीनाले भने राति २ः४१ बजेतिर उठेर हेर्दा श्रीमान अचेत अवस्थामा थिए । श्रीमान अचेत भेटिएपछि मीनाले छिमेकी र दुलालका साथीलाई खबर गरेपछि राति करिब ३ बजे एम्बुलेन्समा राखेर गोल्डेन अस्पताल पुर्‍याइएको थियो ।

दुलालको घर सुनसरी खनार हो । तर करिब ६ वर्षयता उनी विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए । उनले मीना श्रेष्ठसँग प्रेम विवाह गरेका थिए ।

स्रोतः नयाँपेज 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*