भूकम्पको चोटबाट तंग्रिदै गरेको सिन्धुपाल्चोकबासीमा कोरोनाको त्रास

यतिबेला सिन्धुपालचोक जिल्लामा त्रासमा छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणले पुरै विश्व नै आक्रान्त भइरहेको बेला सिन्धुपाल्चोकबाट कोरोना संक्रमणकै कारण एक जना सुत्केरीको मृत्यु भयो ।
२०७२ सालको भुकम्पले गलेको सिन्धुपाल्चोक कोरोनाका कारण एक सुत्केरीको मृत्यु भएपछि झनै त्रासमा छ ।
गत शनिबार बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट मृत्यु थियो । मृत्यु भए लगतै उनको घर, माइती र आसपासका क्षेत्र सिल गरेर सम्भावित जोखिम क्षेत्रका व्यक्तिहरूबाट स्वाबको नमूना संकलन गरिएको छ ।
२०७२ सालको भूकम्पमा सबैभन्दा धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी अहिले कोरोना संक्रमणबाट पहिलो मृत्यु पनि आफ्नै जिल्लामा भएपछि त्रसित भएका छन् । भूकम्पको क्षतिबाट तंग्रिएर आफ्नो दैनिकीमा फर्किएका उनीहरुलाई बारीका पाटाभरि सेता पीपीई र मास्क लगाएका मानिसहरुको झुण्ड नौलो त लाग्यो नै सँगसँगै कोरोना संक्रमणको त्रास पनि थपियो ।
मृत्युको पुष्टि भए लगतै बागमती प्रदेशका २ जना मन्त्री र्यापिड रेस्पोन्स टीम सहित सो क्षेत्रमा निरनतर खटिरहेका छन् । सिन्धुपाल्चोक जिल्लाबाटे चुनाव जितेका बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल (शरद) र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल सो क्षेत्रमा आफ्नो टिम सहित खटिरहेका छन् ।
अहिले स्वास्थ्यकर्मीको टोली जतिसक्यो धेरै जनाको स्वाबको नमूना संकलन गर्ने र संक्रमित पत्ता लगाउने कोसिसमा सक्रिय छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएकाहरुको पीसीआर टेस्टका लागि सोमबार पनि स्वाब संकलन जारी रहने छ । आइतबार ५० भन्दा बढीको स्वाब संकलन गरेको स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको टोलीले सोमबार पनि स्वाब संकलन जारी राख्ने छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । आइतबार ती महिलाका परिवारका सदस्य र आफन्तहरुको स्वाबको नमूना लिइएको थियो । उनलाई उपचार गर्न लगिएको बाह्रबिसे प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र उनको सम्पर्कमा आएका थप गाउँलेको स्वाब संकलन सोमबार हुने छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी महिलाको मृत्यु भएपछि चार वटा गाउँ सिल गरेर निगरानी बढाइएको छ । नगरपालिकाका वडा नम्बर ८ र ९ तथा बलेफी गाउँपालिकाका ७ र ८ नम्बर वडा सिल गरिएको हो । बाह्रबिसे ती महिलाको घर हो भने बलेफी उनको माइती हो ।
ती महिलालाई उपचार गर्न लगिएको बाह्रबिसेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । बाह्रबिसे बजार पनि आइतबार बिहानबाट पूर्णरुपमा बन्द गरिएको छ । लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउन नेपाली सेना, प्रहरीलगायतलाई परिचालन गरिएको छ ।
गत वैशाख २३ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सुत्केरी भएकी राम्चेकी २९ वर्षीया महिलाको गत शनिबार कोरोना संक्रमणबाट मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट ज्यान गुमाउने उनी नेपालको पहिलो व्यक्ति हुन् ।