मनहरीमा दैनिक तीन घण्टा बजार खुल्ने
मनहरी गाउँपालिकास्तरीय अनुगमन समितिले मनहरी बजारमा अब हरेक दिन बिहान ६ देखि ९ बजेसम्म खाद्यान्न तथा तरकारी पसलहरु खुल्ला गर्ने निर्णय गरेको छ ।
यसअघि सातामा दुई दिन मात्रै खाद्यान्न र तरकारी पसल खोल्दा मनहरी बजारमा भीडभाड भएको र हाटबजारजस्तो देखिएको भन्दै सर्बत्र आलोचना भएपछि अब हरेक बिहान तीन घण्टा पसल खोल्ने निर्णय गरेको हो ।
यसअघि समितीले हरेक साताको आइतबार र बिहिबार बिहान १० बजेदेखि ४ बजेसम्म मात्र खाद्यान्न तथा तरकारी पसल खोल्ने निर्णय गरेको थियो ।
समितिकी संयोजक मनिला बिष्टको अध्यक्षतामा इलाका प्रहरी कार्यालय मनहरीमा बसेको बैठकले लक डाउन कार्यान्वयन कडाई गर्ने निर्णय गरेको हो । निर्णय अनुसार अब खाद्यान्न र तरकारी बोक्ने अटोहरुले यात्रु बोक्न पाउने छैनन् ।
एकपटकमा एकजना मात्रै ग्राहकलाई बिक्री गराउने र एउटा मात्र अटो वा साना सबारी साधनमा लोड÷अनलोड गर्ने व्यवस्था मिलाउन व्यवसायीहरुलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।