भारतीय मिडियाले ‘खाते भारतका और गाते चीनका’ भन्दै मनिषालाई गरे गाली
नायिका मनिषा कोइरालालाई भारतीय मिडियाले गाली गलौजा गरेका छन् । नेपालको नयाँ नक्साबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा टिप्पणी गरेका आधारमा भारतीय टिभी एबीपी न्यु्जसहित अन्य सञ्चारमाध्यमले तुच्छ गालीगलौज गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितलाई समेटेर नयाँ नक्सा पारित गरेपछि मन्त्री ज्ञवालीले चाँडै नक्सा जारी हुने जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।’
ज्ञवालीको सोही ट्विटमा प्रतिक्रिया लेख्दै मनिषाले सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको र तीनवटै देश मिलेर अहिलेको समस्या समाधान गर्नुपर्ने जनाएकी थिइन् । अहिले मनिषाको त्यही स्टाटसलाई आधार बनाएर भारतीय मिडियाले ‘खाते भारतका और गाते चीनका’ भन्दै मनिषालाई तुच्छ गालीगलौज गरेका हुन् ।
नेपालमा ‘फेरि भेटौंला’ चलचित्र खेलेर बलिउड प्रवेश गरेकी मनिषाले मुम्बईलाई आफ्नो कर्मभूमि बनाएकी थिइन् । तर, राष्ट्रियता भने उनको नेपाली नै हो । मनिषा बीपी कोइरालाकी नातिनी हुन् । उनको एउटा ट्विटले अहिले भारतमा हंगामा मच्चिएको छ ।