थप १७ जना कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४ सय ४४ पुग्यो

थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।
झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका हुन् । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।
यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।











