कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बन्दै
चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन लगायतको नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको हो ।
विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन लगायतको पदावधि सक्किसकेको र पदपुर्ति नहुदा विश्वविद्यालय अस्तव्यस्त बनेको हो ।
गत भदौ ६ गतेबाट विश्वविद्यालयको उपकुलपति रिक्त भएको छ भने रजिष्ट्रार माघ १२ गतेबाट र दुईवटा सङ्कायका डिन समेत जेठ १ गतेबाट खाली छ ।
विश्वविद्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख, पाठ्यक्रम निर्देशकजस्ता महत्वपूर्ण अधिकारी समेत खाली छन् । विश्वविद्यालय सञ्चालन गर्ने कार्यकारी परिषद्को सात सदस्यमध्ये एक जना विधिवतरुपमा रहेका छन् ।
विश्वविद्यालयको अर्को व्यवस्था नभएसम्मका लागि तत्कालीन डिन शारदा थपलियालाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । दैनिक कार्य व्यवस्थापन गर्नका लागि मात्र उनलाई उपकुलपतिको जिम्मेवारी दिइको हो ।
थपलियाले पूर्ण जिम्मेवारी नपाउँदा दीर्घकालीन महत्वको काम गर्न नमिलेको र रजिष्ट्रार नहुँदा आर्थिक र प्रशासनिक काममा समस्या देखिएको बताइन् । रजिष्ट्रार खाली हुँदा सापट लिएर कर्मचारीको तलब खुवाउनु परेको बताउँदै उनले अन्य विकास निर्माणका काममा अवरोध पुगेको बताएइन् ।
कृषि क्षेत्रको महत्व बढिरहेको समयमा विश्वविद्यालय अस्तव्यस्त हुँदै जाँदा चिन्ता व्यक्त गर्न थालिएको छ । विसं २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृतरुपमा अघि बढाउन विश्वविद्यालय स्थापना गरेको हो ।