अन्त्येष्टि गरेको आठ दिनपछि कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ४ पुग्यो
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यससहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायका अनुसार उपचारको क्रममा मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
उनमा कोरोना भाइरस रहेको अन्त्यष्टि गरेको आठदिनपछि पछिमात्रै पुष्टि भएको हो । उनको जेठ ४ गते नै मृत्यु भएको हो भने २ गते उनी अस्पताल भर्ना भएका थिए। आजमात्र उनमा कोरोना संक्रमण भएको खुलेको हो ।
वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन ।
वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।