लकडाउनको मोडालिटी फेर्ने सरकारको तयारी

हेटौडा न्युज
२० जेष्ठ २०७७, मंगलवार ०९:२२
;

मकवानपुर । सरकारले लकडाउनको ढाँचा बदल्ने तयारी गरेको छ । सबै षेत्रबाट चर्को दवाव आए पछि सरकारले लकडाउनको ढाँचा फेर्ने तयारी थालेको हो ।

गत चैत ११ गतेबाट नेपालमा लकडाउन जारी छ । चैत ११ गते लकडाउन सुरु हुँदा नेपालमा २ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो । लकडाउनको ७० औं दिन अर्थात् आज सोमबार सम्ममा संक्रमितको संख्या बढेर १ हजार ८ सय ११ पुगेको छ । यही बीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको छ । यसबाट के प्रष्ट भएको छ भने लकडाउन मात्रै कोरोना संक्रमण रोकथामको उपाय होइन ।

यसबारे विज्ञहरूले समेत बताउँदै आए पनि सरकारले लकडाउनलाई अपनाइ रहेको छ । पछिल्लो समय थपिएको लकडाउन आउँदो जेठ ३२ गते सकिदै छ । मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको थियो ।

यो अवधिमा नयाँ ढाँचा तयार गर्न सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ । सोहि निर्देशनअनुसार समिति र कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा बनाइरहेका छन् ।

विज्ञ हरुको सल्लाह अनुसार लकडाउनको मोडालिटी परिवर्तन गरी क्रमशः सामान्य बनाउँदै जानुपर्ने आवश्यकता रहेको उच्चस्तरीय समन्वय समितिका सदस्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बताए ।

अन्य मुलुकले आर्थिक गतिविधि ठप्प र जनजीवनसमेत अस्तव्यस्त बनेपछि लकडाउनलाई खुकुलो पारिसकेका छन् । नेपालसँगै लकडाउन सुरु गरेको भारतले सार्वजनिक यातायात लगायत सबै खुला गरिसकेको छ । नेपालमा भने लकडाउनको विकल्प नसोची अघि बढेपछि नागरिक तहबाट सरकारको विरोध भइरहेको छ ।

सीसीएमसीले अहिलेको अवस्था विश्लेषण गरिरहेको उत्पादनमूलक र सेवामूलक क्षेत्र छुट्याएर कुनलाई कसरी सञ्चालन गर्ने भन्ने ढाँचा तयार पारीरहेको र सम्भवतः मंगलबार बस्ने उच्चस्तरीय समितिको बैठकमा नयाँ मोडालिटीको ठोस प्रस्ताव बन्न सक्छने मन्त्री भट्टराईको भनाई छ ।

मन्त्री भट्टराईका अनुसार संक्रमितहरूको अवस्था, त्यहाँको जनसंख्या, स्वास्थ्य उपचारको सम्भावित उपलब्धता हेरेर ठाउँ विशेषमा लकडाउनको ढाँचा परिवर्तन हुन सक्छ । हाल कम जोखिम देखिएका हिमाली, पहाडी जिल्ला र काठमाडौं उपत्यकालगायतमा आवागमन खुकुलो बनाइने सम्भावना छ । बढी जमघट हुने स्थानबाहेक अन्य क्षेत्रमा खुकुलो हुनेछ ।

सार्वजनिक यातायात तत्काल खुला नभए पनि केही स्थिति आकलन गरी आन्तरिक हवाई उडान खुलाउने विषयमा कुरा भइरहेको छ । विमानस्थलमा सामाजिक दूरी कायम गर्न ‘लाइन मार्किङ’ भइरहेको छ । स्वास्थ्य जाँच र हवाई यात्राको प्रोटोकल बनिरहेको छ । विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय हवाई संगठन ९आईकाओ० ले कोभिड–१९ का बेलालाई तयार गरेको प्रोटोकलअनुसार यहाँ पनि व्यवस्था गर्ने तयारी छ । उडान खुलेपछि केही होटल पनि सञ्चालनमा आउनेछन् । उडान र होटल सञ्चाललगायतका लागि सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग कुराकानी भइरहेको मन्त्री भट्टराईले जानकारी दिए ।

यसअघि नै खाद्यान्न, कृषि, निर्माणलगायत अत्यावश्यक गरी झन्डै ४० प्रकारका सेवासँग सम्बन्धित कलकारखानामा सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर काम गर्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । त्यो दायरा अब थप खुकुलो बनाउने तयारी छ ।

लकडाउन सुरु भएको केही सातापछि नै सरकारी निकायमा यसको ढाँचा फेर्ने विकल्पमा जानुपर्ने बहस सुरु भएको थियो । अधिकांश मन्त्रीले मन्त्रिपरिषद् बैठकमै पनि यो कुरा उठाउने गरेका थिए । विशेषगरी अर्थमन्त्री युवराज खतिवडा, उद्योगमन्त्री लेखराज भट्टलगायतले आर्थिक गतिविधिलाई ख्याल गरेर वैकल्पिक उपाय अपनाउँदै जानुपर्ने धारणा राख्ने गरेका थिए ।

तर लकडाउन खुकुलो पार्न प्रधानमन्त्री केपी शर्मा ओली नै विश्वस्त भएनन् । उनले बरु सार्वजनिक रूपमै ‘जीवनभन्दा ठूलो अर्थतन्त्र होइन’ भने । ढाँचा फेर्दा स्थिति भयावह हुने भन्दै लम्ब्याउनुपर्ने अडान राखिरहे । लकडाउनकै अवधिमा पनि दिनमा एक सय जनाभन्दा बढी संक्रमित थपिँदै गएकाले यो विधिले मात्र रोक्न नसकिने रहेछ भन्ने निष्कर्षमा सरकार पुगेको हो ।

लकडाउनकै बीचमा पनि भारतबाट हजारौं मानिस नेपाल भित्रेका छन् । भारतले लकडाउन खोलेपछि पनि उत्तिकै संख्यामा सीमाबाट नेपाल भित्रिइरहेका छन् । भारतबाट छिर्नेहरू नै सबै भन्दा बढी संक्रमित देखिएका छन् । त्यसैले एकै पटक धेरै संक्रमित हुँदा कसरी जाने भन्ने निर्णयमा पुगिहाल्न समस्या भएको मन्त्री भट्टराईले बताए ।

तर अब सीमा क्षेत्र र त्यहाँबाट छिर्नेहरूलाई गर्ने निगरानी र प्रभावकारी व्यवस्थापन गर्न सेना सहितका सुरक्षा निकायलाई खटाउने निर्णय सरकारले गरेको छ । त्यसले जथाभावी मानिसको आवतजावत घट्ने सरकारी अधिकारीहरूको आकलन छ । तर संक्रमितको संख्या केही समय बढ्न सक्छ । सरकारी अधिकारीहरूले गरेको एक अनौपचारिक आकलनअनुसार यही दरमा संक्रमण बढ्दै जाने हो भने एक महिनाभित्र संक्रमितको संख्या ५ हजार नाघ्न सक्छ ।

स्रोतः कान्तिपुर दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*