कुखुराको खोरमा गाँजाको भण्डार

हेटौडा न्युज
२२ जेष्ठ २०७७, बिहीबार ०९:२४
;

महोत्तरी । प्रहरीले महोत्तरीमा कुखुराको खोर भित्र भण्डारण गरेर गाँजा बरामद गरेको छ । कुखुरापालन गरिएको घरमा झण्डै दुई क्विन्टल गाँजा पोका बनाएर राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको हो ।

जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा कुखुरापालन गरिएको घरमा सो परिमाणमा गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधबार जानकारी दिएको छ ।

पहिलेदेखि नै सो बस्तीका लक्ष्मी चौधरी लागुऔषध गाँजाको ओसारपसार र कारोवारमा संलग्न छन् भन्ने सूचना पाएपछि त्यसको खोजीमा लागेको प्रहरीले १६ प्लाष्टिकका पोका र दुई बोरामा राखेर कुखुराको खोरमा थन्क्याइएको १८० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

गत मङ्गलबार राति प्रहरी निरीक्षक केदार बस्नेत नेतृत्वको प्रहरी टोलीले कुखुराको खोरमा गाँजा भण्डारण गरिएको पत्ता लगाएको हो ।

कारोवार सञ्चालन गर्दै आएका ५२ वर्षीय चौधरी भने फरार छन् । जिल्लामा पछिल्ला तीन वर्षयता यति धेरै परिमाणमा गाँजा फेला परेको यो पहिलो अवसर हो । भारतसँग सीमा जोडिएको एकडारा गाउँपालिका लागुऔषध गाँजाको सघन ओसारपसार हुने केन्द्रका रूपमा चिनिने गरिन्छ ।

यस गाउँपालिकाको अजमरपट्टी बस्ती एकदशक पहिलेसम्म संसारभरिकै गाँजा तस्करको उठबस हुने ठाउँका रूपमा चिनिन्थ्यो । तर गाँजाखेती र कारोवार नियन्त्रणमा प्रहरी सक्रियता बढ्दै गएपछि कारोवारीले नजिकका अन्य बस्तीलाई धन्दा चलाउन आश्रयस्थल बनाउँदै आएका छन् ।

जिल्लाका अन्य क्षेत्रमा पनि गाँजाखेती गरिएको भेट्टिए पनि धेरैजसो एकडारा गाउँपालिका क्षेत्रभित्रका बस्तीमा वर्सेनि प्रहरीले गाँजा खेती नष्ट गर्दै आएको छ ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*