कोरोना विरुद्धको भ्याक्सीन तयार भयो, परीक्षणको व्यवस्था गरी दिन आग्रह

हेटौडा न्युज
२३ जेष्ठ २०७७, शुक्रबार १३:४९
;

कोरोना भाइरस विरुद्धको भ्याक्सीन वा औषधिमा विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरु लागिरहे पनि सफलता पाउन सकेका छैनन् । यसै क्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वन विज्ञान क्याम्पसका राशायन शास्त्रमा विद्यावारिधि गरेका सह–प्राध्यापक डा. ललितकुमार दासले गत चैत्र १३ गतेदेखि करीब ७० दिनको लामो अनुसन्धान पछि कोरोना भाइरस विरुद्धको हर्बल भ्याक्सीन तयार भएको दाबी गरेका छन् ।

विगत २२ बर्षदेखि रशायन शास्त्र विषयमा विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएका उनले यस्तो दाबी गरेका हुन् । डा. दासले स्थानीय रुपमा दैनिक प्रयोगमा आउने जडीबुटीहरुको सम्मिश्रणबाट रसायन विहीन (विषादी रहित) भ्याक्सीन तयार गरेको र यसले भाईरस विरुद्ध काम गर्ने आफ्नो विश्वास रहेको दाबी गरेका छन् ।

बन क्याम्पस भित्र रहेको क्यामेष्ट्री ल्याबमा अनुसन्धान गरिरहेका उनले कोरोना भाइरसलाई डिन्याचुरेसन गर्ने (मार्ने) र इम्युनिटी (प्रतिरोधि क्षमता) बढाउने २ प्रकारको भ्याक्सिनलाई कोरोना भाइरस विरुद्धको उपचारमा प्रयोग सकिने दाबी गरेका छन् । उनका अनुसार कोरोना भाइरस एउटा स्पाइ प्रोटिन भएकोले त्यसलाई मार्न उनले २ वटा बायो इन्जाइमको कल्चर र इम्युनिटी पावर (प्रतिरोधि क्षमता) बढाउन अर्को भ्याक्सिन तयार गरेको बताएका छन् । विभिन्न खोज अनुसन्धान गर्दै आएका उनले चैत्र पहिलो साता जडीबुटीमा आधारित हर्बल पद्धतिको स्यानिटाइजर बनाइसकेका छन् ।

डा. दासका अनुसार टेकु स्थित अस्पतालमा कोरोना पोजेटिभ भएकाहरुको संकलन गरिएको रगतमा आफूले तयार पारेको भ्याक्सिन इन्जेक्ट (प्रयोग) गरेर यसको प्रभावकारिताबारे निष्कर्षमा पुग्न सकिने बताएका छन् । यसका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले आवश्यक परीक्षणको व्यवस्था मिलाइदिन सार्वजनिक रुपमा अनुरोध गरेका छन् ।

केही दिन अघि बागमती प्रदेश, सामाजिक विकास मन्त्री युवराज दुलाल डाक्टर दासको ल्याबमा पुगेका थिए । मन्त्री दुलालले परीक्षणको लागि आफूले पहल गर्ने र परीक्षण सफल भएमा मानवजातिकै हित हुने बताएका थिए । डाक्टर दासको अनुसन्धानमा विश्व स्वास्थ्य संगठन (WHO) ले समेत चासो व्यक्त गरेको बताईन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*