राक्सिराङको गर्भवती, सुत्केरीलाई तरकारी कोसेली
मकवानपुर । राक्सिराङ गाउँपालिकाको स्वास्थ्य चौकीले गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाइ लक्षित गरी करेसाबारीमा तरकारी उत्पादन गरेको छ । राक्सिराङ गाउँपालिका–५ स्थित चैनपुर स्वास्थ्यचौकीले स्वास्थ्य चौकीकै करेसाबारीमा मौसम अनुसारका तरकारी उत्पादन गरिएको हो ।
स्वास्थ्यचौकीमा सेवा लिन आउने गर्भवती, सुत्केरी तथा गाउँपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिकका लागि निःशुल्क रुपमा उत्पादित तरकारी प्रदान गर्ने उद्देश्य सहित स्वास्थ्य चौकीकै करेसाबारीमा तरकारी उत्पादन गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
स्वास्थ्य चौकीले दुई स्थानमा करेसाबारी निर्माण गरेको अध्यक्ष मल्लले बताए । करेसाबारीमा अहिले लौका, गोलभेँडा, फर्सीलगायत मौसमी तरकारी उत्पादन गरी वितरण गरिरहेको छ । करेसाबारीमा मौसमी तथा बेमौसमी तरकारी बाह्रै महिना तरकारी फलाउने स्वास्थ्यचौकीको योजना छ ।
पोषणका दृष्टिले पछाडि परेका चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा कुपोषणको समस्या भोग्दै आएको छ ।
राक्सिराङ गाउँपालिकामा रहेको अन्य चार वटै स्वास्थ्य चौकीहरूमा पनि करेसाबारी निर्माणका लागि आगामी बजेटमा व्यवस्था गर्न पहल भइरहेको अध्यक्ष मल्लले बताए ।
कुल ३० हजार ८ सय ३० घरपरिवारको बसोबास रहेको सो गाउँपालिकामा अधिकांश चेपाङ, तामाङसहित जनजाति समुदायका परिवारमा पोषण शिक्षा प्रबर्द्धन गराई ब्यबहारिक रुपमै लागु हुने हो भने गाउँपालिकाका समृद्धिको बाटोमा उन्मुख हुने विश्वास अध्यक्ष मल्लको छ ।