रुकुम घटनाका दोषी उपर कार्वाहीका लागि हेटौंडामा हस्ताक्षर संकलन

हेटौंडा । रुकुम पश्चिमको गत जेष्ठ १० गतेको घटनामा दोषीलाई कारवाहीको माग गर्दै देशका विभिन्न स्थानमा कार्यक्रम, धर्ना, जुलुश भईरहेको छ । सोही घटनालाई लिएर मकवानपुरमा पनि केही दिनदेखि अधिकारवादी संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।
यसै सन्दर्भमा हेटौंडाको बुद्धचोकमा घटनाका दोषीलाई कारवाहीको माग गर्दै दबाबमूलक हस्ताक्षर संकलन शुरु गरिएको छ । आज बिहान ७ बजेदेखि ९ बजेसम्म हेटौंडाको अधिकारकर्मीहरुले कार्वाहीको माग गर्दै प्रदर्शन सहित हस्ताक्षर संकलन गरेको हो ।
प्रत्येक बिहान ७ बजेदेखि ९ बजेसम्म हस्ताक्षर संकलन गरी सम्बन्धित निकायलाई बुझाईने स्वतन्त्र जनदवाव अभियानका संयोजक अनिलकुमार खातीले जानकारी दिएका छन् । हस्ताक्षर संकलन कार्य आउँदो जेष्ठ २९ गतेसम्म जारी रहने बताईएको छ ।
पश्चिम रुकुम चौरजहारी–८ मा जाजरकोट भेरी नगरपालिका वडा नं ४ रानागाउँका नवराज विक र पश्चिम रुकुमको चौरजहारी ८ की एक युवतीका बीचको प्रेम सम्बन्ध रहेकोले विवाह गर्न विकसहितको समूह युवतीको गाउँ पुग्दा स्थानीयहरुले दलितले गैरदलित केटीसँग विवाह गर्न खोजेको भन्दै विकको समूहलाई कुटपिट गरी हत्या गरेको र भेरी नदीमा बगाईदिएको आरोप लगाईएको छ ।सो घटनामा प्रेम सम्बन्ध रहेका भनिएका विकसहित ६ जना युवाको ज्यान गएको थियो ।