बजेट विवादः बागमती प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

मकवानपुर । बजेटको विषयमा विवाद भए पछि बागमती प्रदेश, प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
सत्तारुढ दलभित्रै बजेटको विषयमा तिब्र विवाद भएपछि बागमती प्रदेशको प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको हो ।
सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठकबाट निर्णय समेत नगरी, बैठक स्थगित गरिनेबारे कुनै पूर्व जानकारी नदिई बैठक स्थगित गरिदिएका छन् ।
प्रदेश सभामा गत असार १ गते आगामी आर्थिक वर्ष ०७७/७८ को लागि सरकारले बजेट प्रस्तुत गरेको थियो । सो बजेटमाथि छलफल गरी बजेट पास गर्नुपर्ने समयमा अनिश्चित कालको लागि बैठक स्थगित भएको हो ।
प्रदेश सभा सदस्यहरुले बजेटको रातो पुस्तक नपाएको र पुस्तक नपाएसम्म बजेटमाथि छलफल अगाडि नबढाउने अडान सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले राखेपछि बैठक स्थगित गर्न सभामुख बाध्य भएका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ र उपनेता कृष्णलाल भडेँलले निरन्तर बैठक संचालन गरेर बजेट पास गर्ने काम अगाडि बढाउन आग्रह गरेका थिए । बजेट र केही बिधयक पारित गरिसकेपछि बरु केही समय ग्याप राखेर सभा सुरु गरौँ भन्ने आग्रह गरेका थिए ।
तर सभामुख सानुकुमार श्रेष्ठलाई सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बजेट पुस्तको बृस्तृत अध्ययन गरेसम्म कुनैपनि हालतमा बजेटबारे छलफल अघि नबढ्ने अडान राखेपछि श्रेष्ठले अनिश्चितकालको लागि सभा स्थगित गरेका हुन् ।
यस विषयमा सभामुख श्रेष्ठले प्रदेश सभा सदस्यहरुले बजेटको रातो पुस्तक पढ्न पाउनुपर्छ भन्दै माग गर्नुभयो तर पुस्तक प्रदेशसभा सचिवालयमा उपलब्ध नभएका कारण बैठक स्थगित गर्नुपरेको बताए ।
सत्तापक्षका प्रदेशसभा सदस्यहरु गणेश दुलाल, नारायणबहादुर सिलवाल, शशीजंग थापा, शान्तिप्रसाद पौडेल लगायतकाहरुले रातो पुस्तक नपाएसम्म छलफल नहुने अडान राखेका थिए ।