१२ हजार घुस रकमसहित भीमफेदीका इन्स्पेक्टर राय नियन्त्रणमा

मकवानपुर । भीमफेदी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी इन्स्पेक्टर घुस रकमसहित पक्राऊ परेका छन् । प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामबालक रायलाई भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित सगरमाथा होटलबाट १२ हजार रुपैयाँ घुस रकमसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेशका डिआइजी बसन्तकुमार लामाले रकम लेनदेनमा रहेका उनलाई रङ्गेहात नियन्त्रणमा लिइएको र अनुसन्धानपछि कार्वाही प्रकृया अघि बढाईने जानकारी दिएका छन् । इन्स्पेक्टर रायलाई प्रदेश प्रहरी कार्यालय, हेटौंडामा नियन्त्रणमा राखिएको छ ।
इन्स्पेक्टर रायले ठेकेदार दुर्गा लामासंग १२ हजार रुपैयाँ घुस रकम लिएकै बखत प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको बताईएको छ । इन्स्पेक्टर रायले आफ्नो इलाकामा गलत गतिविधि गर्ने सूचना र गुनासो आएपछि प्रदेश प्रहरीले उनलाई निगरानीमा राखेको डिआइजी लामाले बताएका छन् ।