हेटौंडाकी सुस्मिताको हत्याको विरोध प्रर्दशन

मकवानपुर । हेटौंडाकी सुस्मिता के.सी. थापाको हत्याको विरोध गर्दै आज हेटौंडामा नारा जुलुससहित प्रर्दशन भएको छ । हेटौँडा–४ कर्रा, सुर्य चोककी सुस्मिता थापाको हत्या प्रकरणको निश्पक्ष छानबिनको माग गर्दै स्थानीय नागरिकहरुले नाराबाजीसहित विरोध प्रर्दशन गरेका हुन् ।
कर्राबाट सुरु भएको जुलुस हेटौँडा बसपार्क, जिल्ला प्रहरी कार्यलय, बुद्ध चोक हुँदै बजार परिक्रमा गरी पुनः कर्रा, सुर्य चोकमा पुगेर मृतकको आत्माको चिरशान्तिको कामनासहित लाख बत्ति बालेर सम्पन्न भएको थियो ।
आक्रोसित स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केहि बेर हत्यारालाई फाँसी दे फाँसी दे, ‘सुस्मितालाई न्याय दे न्याय दे, बुहारी मार्न पाइँदैन जस्ता नारासहित प्रदर्शन गरेका थिए ।
हेटौंडा बजारका मुख्य–मुख्य चोकमा नाराबाजी गर्दै कर्राको सुर्य चोकमा पुगेको आक्रोसित भिड नियन्त्रण गर्न प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो ।
गत असार २ गते हेटौँडा–४ स्थित सुर्य चोक नजिक आफ्नै घरको भान्सामा मृत अवस्थामा फेला परेकी थिइन् ।
मकवानपुर प्रहरीले सो घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।