प्रेम, नेपाली समाज र मानवीयता

मकवानपुर । मानिस विवेकशील सामाजिक प्राणी हो । समय अनुसार आफ्नो विवेक प्रयोग गरेर हरेक कार्यमा सफलता हासिल गर्दै हाम्रो समाज विकसित हुँदै छ ।
विकासको गतिमा उन्मुख हाम्रो समाजमा अचेल अमानवियता पनि उतिकै रुपमा मौलाएका छन् । सुन्दर, शान्त रहने हाम्रो समाज अहिले विभिन्न अमानवीय घटनाको जञ्जालमा फसेको छ । घटनाका कारण फरक हुन सक्ला तर हाम्रो समाजमा मानवियता हराउदै गएको प्रष्ट देखिन्छ ।
हाम्रो समाजमा घट्ने घटनाको एउटा कारण हो, प्रेम । प्रेम असफल हुँदा त घटना घट्ने सम्भावना उच्च रहन्छ नै तर अहिले सफल प्रेमले पनि विविध घटनाहरु निम्त्याएको छ ।
कतिपय प्रेम नचाहँदा नचाहँदै पनि अन्त्य हुन्छ ती प्रेमले निम्त्याउने घटनाहरुका प्रकार पनि फरक हुन्छन् ।
नेपाली समाज भित्र आफुले गरेको प्रेम सफल भएन भने घटना निम्त्याउने केही दरिद्र मानसिकता बोकेका केही थान मानिसहरु पनि हाम्रो समाजमा छन । यस्ता घटनाहरु जोगाउन , संरक्षण गर्न उच्च तहका अधिकारीहरु नै लाग्ने गरेको समेत पाइन्छ्न् । समाज भित्र यस्ता कयौं प्रत्यक्ष र अप्रत्यक्ष घटनाहरु हुने गरेका छ्न ।
यस्तै घटनाहरुको संग्रहमा केही प्रेमका घटनाहरु सुनाउन मन लाग्यो ।
समाज भित्र यदि मेरो हुन सक्दैनौ भने अरुको पनि हुन दिन्न भन्ने गलत मानसिकताका व्यक्तिहरु व्यापक छ्न । यस्ता विकृत मानसिकताका घटनाले समाज भित्र गहिरो चोट पुर्याएको छ ।
एसिड पीडित किशोरी संगिता वा सिमा घटना होस् वा सम्झना सुस्मिता दासका घटना होस् वा नवलपरासीकी वसन्तीले झेल्नु परेको दर्दनाक घटना अथवा काठमाडौको चाबहिलमा आफ्नै श्रीमानबाट एसिड खन्याइएकी जेनी खड्काको कथा ।
विरगंजमा भएका पाँच एसिड आक्रमणमा अभियुक्तको एकै प्रकृतिको जवाफ छ, ‘जसरी पनि कुरुप पारिदिन्छु भनेर एसिड प्रहार गर्ने, कुरुप अनुहार बनाइदिने, ‘मेरी हुँदैनौ भने अर्काको पनि हुन दिन्न ।’
यहि मानसिकताका उपज हुन् पछिल्ला ५ एसिड आक्रमणका घटना । किनकी प्रेम जस्तो पवित्र कुरालाई सस्तो बनाउने अहिलेका पुस्ताले साँचो प्रेमको सम्मान त के बुझ्न पनि सक्दैनन् जस्तो लाग्छ । प्रेमका नाममा भएका यी र यस्ता हिंसात्मक घटनाले पनि त्यो कुरा इंगित गरेको छ ।
२०७१ साल फागुन ११ गतेको त्यो घटना आज पनि धेरैको मुटु कमाईदिन्छ । एसएलसीको तयारीको लागि ट्युसन पढ्न गएका दुई किशोरीमाथि काठमाडौंको वसन्तपुरमा एसिड प्रहार भयो । आक्रमणमा परेकी किशोरी संगिताको अनुहार एसिडले जलेर छियाछिया भयो । शरिरका अन्य भागमा पनि गहिरो चोट पुग्यो ।
उनकी साथी सिमा पनि आक्रमणमा परिन् । उनको अनुहारका केहि भागमा चोट पुग्यो संगितासँगको आन्तरिक रीसिवीका कारण जीवन वि.क.ले प्रहार गरेको एसिडले संगितासँगै रहेकी सीमालाई समेत लागेको थियो ।
अस्पतालको शैयाबाटै उनीहरु परिक्षामा सामेल भए । पीडक जीवन वि.क.लाई अदालतले १० वर्ष जेल सजाय सुनायो । उनले प्रहरीसामु संगिताको सुन्दरता बिगार्न एसिड प्रहार गरेको स्वीकार गरेका थिए ।
त्यसको केहि समयपछि अर्को घटना सुनियो । चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि २०७५ साल भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको प्रहरी अनुसन्धानबाट देखियो ।
तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो । गम्भीर घाइते दासको उपचारको क्रममा काठमाडौंको किर्तिपुर अस्पतालमा मृत्यु भयो । ५० वर्षे रामबाबु पासवानले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा एसिड आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुल्यो ।
एसिड प्रहारबाट युवतीको ज्यान गएको घटना नसेलाउँदै नवलपरासीको कावासोतीमा फेरि २७ वर्षीया युवतीमाथि एसिड र छुरा प्रहार भयो । आफ्नै छिमेकी विमल श्रीपालीको एसिड र छुरा आक्रमणमा परेकी कावासोती नगरपालिका–९ डण्डा बजारकी वसन्तीको शरीरको २५ प्रतिशत भाग जलेको थियो । फरक पारिवारिक पृष्ठभुमिका उनीहरु दुवै विवाहित थिए । उनीहरु बिचको पछिल्लो समय उत्पन्न मनमुटावले यो घटना निम्त्याएको प्रहरीको भनाइ छ ।
जेठ १ गते साँझ काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड आक्रमण भयो । यो घटनाले अझ संशय पैदा गर्यो । आक्रमणमा परेकी युवती जेनी खड्कालाई आफ्नै श्रीमान् विष्णु भुजेलले एसिड खन्याएका थिए । घाइते जेनी खड्काको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
श्रीमान् श्रीमतीबीचको आपसी विवादका कारण एसिड प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।काभ्रेमा एक मोटर ग्यारेजमा काम गर्दै भुजेल र जेनीबीच पाँच वर्षअघि विवाह भएको थियो । केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरु अलग बस्दै आएका थिए । भुजेलले दोस्रो विवाह गरे पछि जेनी खड्का कालोपुलमा बुबा आमासँग बस्दै आएकी थिइन् ।
दोस्रो विवाह गरेका भुजेलले जेनीलाई पटक–पटक घर बोलाएका थिए । उनी नआएपछि कालोपुलमा भेटेर एसिड हान्ने योजना बनाएका भुजेलले आफ्नो योजनामा सफल पनि भए ।
श्रीमतीलाई कुरुप बनाउन एसिड खन्याएको उनले प्रहरीसँग बताएका छन् । राति करिब ८ बजे भेट्ने बहानामा श्रीमतीलाई बोलाएर काठमाडौंको कालोपुलमा आफूले नै श्रीमती माथि एसिड प्रहार गरेको उनले स्वीकार गरेका छन् । एसिड सहजै किन्न पाइने भएकाले पनि आपराधिक मनस्थिति भएकालाई थप सहयोग पुगेको छ ।
२०७६ साल भदौ २० गतेको झिसमिसैको त्यो कहालीलाग्दो घटना ‘स्कुल हिँडेकी किशोरीमाथि एसिड छ्यापियो । वीरगंज महानगरपालिका २ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि एसिड प्रहार भयो । स्कुल हिँडेकी खातुनमाथि उनैका छिमेकी युवक समसाद मियाँले झिसमिसैमा एसिड प्रहार गरेका हुन् ।
घरबाट करिब १ किलोमिटर पूर्व–उत्तरमा रहेको विद्यालयमा जाने क्रममा बिहान करिब सवा छ बजेको समयमा सीता हस्पिटलको गल्लीमा समसाद र उनका साथी मजिद आलमको समूहले खातुनमाथि एसिड प्रहार गरी भागेका थिए ।
घटनापछि प्रहरीले एसिड प्रहार गर्ने समसादलाई नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीका अनुसार यूवकले ती यूवतीलाई एकोहोरो प्रेम गर्थे । आफ्नो प्रेम अस्वीकार गरेका कारण एसिड प्रहार भएको प्रहरीको भनाई छ ।
अस्ति भर्खरै रुकुम पश्चिममा जातकै कारणले साथीसहित प्रेमिका लिन जादा उनी आफु सहित आफ्नो साथीहरुको ज्यान गुमाउनु पर्यो ।
एकतर्फी प्रेम अस्वीकार पछि एसिड आक्रमण पछि कुरुप अनुहार लिएर पीडित कहाँ जाने ? केहि महिनापछि अपराधी जेल बाहिर आउँछ । जानाजान अरुको जिन्दगी बर्बाद पार्नेलाई यत्ति सजायले पुग्छ त ? पीडितले प्रश्न गरिरहेका छन् ।
कडा कानून नबन्दासम्म जसरी नि त्यसको अनुहार कुरुप पारिदिन्छु भनेर पीडकहरु हौसिरहेका छन् । नेपालको कानुनले २०७१ साल फागुन ११ गते काठमाडौंको वसन्तपुरमा दुई युवती संगीता पुलामी मगर र सीमा बस्नेतमाथि भएको एसिड आक्रमणपछि एसिड आक्रमणको विषय बहसमा आयो । पीडितले जिन्दगीभर डढेको अनुहार लिएर बाँच्नुपर्ने र पीडक केहि समयपछि निर्धक्क उस्तै जीवन बाँच्न पाउने अवस्था हुनु हुँदैन भन्ने आवाजहरु सुनियो ।
त्यसपछि संसदले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२ पारित गर्यो । जसमा एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको थियो ।
यसैबीच २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता जारी भयो । संहिताको दफा अनुसार कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ । जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ । एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ । मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाउन सकिन्छ भनिएको छ ।
समाज भित्र यस्ता हिंसाहरुलाई अन्त्य गर्नु सट्टा संरक्षण गर्ने गरेको समेत पाईन्छ । यस्ता अमानवीय हिंसाहरुलाइ हरेक घरभित्रबाट मात्रै नभई घर भित्रका परिवारका सदस्यहरुका सोचबाटै अन्त्य गर्न जरुरी छ, आवश्यकता छ ।
कहिले दाइजोको कारणले हुने हत्या , कहिले प्रेमिकाले अस्वीकार गरेको कारणले हुने एसिड आक्रमण , कहिले अन्तरजातीय भएकै कारण आफ्नो प्रेमलाई जिउदै मृत्यु अवस्थामा देखिने विभेदकारी हिंसाहरु समाज भित्रका कुरीति र सोचाई हुन् । अब केही कानुनलाई परिमार्जन गर्दै अब समाज भित्रका प्रेमका घटनालाई न्यूनीकरण गर्न राज्यले तत्काल थप कदम चाल्न अति आवश्यक भईसकेको छ ।
लेखकः रामकृष्ण शिवाकोटी
(विद्यार्थी नेता अनेरास्ववियू मकवानपुर र अध्यक्ष अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस समिति)