अरनिको राजमार्ग अवरुद्ध, तातोपानी नाकासँग सम्पर्कबिच्छेद

हेटौडा न्युज
२७ असार २०७७, शनिबार १२:५२
;

अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण अरनिको राजमार्गको ११ स्थानमा सडक कटान तथा अवरुद्ध भएको छ ।

गत बुधबारदेखिको वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको जुरेमा झन्डै १ सय मिटर सडक कटान गरेको छ भने बाह्रबिसे बजार छेउको सडक पनि कटान गरेको छ । जुरेदेखि नेपालको चीनसँगको प्रमुख नाका तातोपानीसम्म अरिनिको राजमार्गका ११ स्थानमा सडक कटान भएको छ । बाढी र पहिरोले सडक बिगारेपछि तातोपानी नाकासँगको सम्बन्ध टुटेको छ ।

भर्खर सञ्चालनमा आउन लागेको तातोपानी नाका  बाढी पहिरोले सडक अवरुद्ध गरेपछि बन्द भएको छ । चीनले सुख्खा बन्दरगाह बनाएर नाका खुलाउन लागेको बेला फेरि बाढीले सडक अवरुद्ध भएको छ ।

सो नाका हुँदै चीनबाट नेपालमा तयारी पोसाक, जुत्ता, इलेक्ट्रोनिक्स सामान, औषधि, हार्डवेयरका सामान, फलफूलहरु आउने गर्छन् ।

असार २४ र २५ गते रातिको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाको सीमानामा पर्ने जुरेदेखि तातोपानीसम्मको बाटो अवरुद्ध छ ।

बाढी र पहिरोले अरनिको राजमार्गको बाह्रबिसे नगरपालिका अन्तर्गत जुरे सडकखण्ड, बाह्रबिसे चौकी नजिक हुँदै खुर्सानीबारी व्यारेक मुनिको सडक, खागदल खोला पक्की पुलमा क्षति र खागदल क्षेत्रको सडकखण्ड, खागदलदेखि जम्बु जाने सकडखण्ड, जम्बु बजार क्षेत्र, नयाँ पुल सडकखण्डमा क्षति पुगेको छ ।

यस्तै भोटेकोशी गाउँपालिका अन्तर्गत बुल्कुटे पुल र सडकखण्ड, डाक्लाङ सडकखण्ड, खोकुण्डोल सडकखण्ड, लार्चा बेलिब्रिज क्षेत्रको सडकखण्ड, १० किलो सडकखण्ड र तातोपानी–धारामाथिको सडकखण्डमा क्षति पुगेको छ ।

रातोपाटीमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*