प्रहरीद्वारा बाईकसहित ५ केजी अफिम बरामद
मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले बाईकसहित लागूऔषध अफिम ५ केजी बरामद गरेको छ । मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ मा गत आषाढ १७ गते सवारी चेकिङका लागि इलाका प्रहरी कार्यालय, नेवारपानीबाट खटिएको प्रहरी टोलीलाई परैबाट देखेर मकवानपुरको मनहरी तर्फबाट आईरहेको ना.४३ प ५७८४ नम्बरको दुईजना सवार व्यक्तिहरु मोटरसाईकल र साथमा रहेको झोला छाडेर जङल तर्फ फरार भएको जनाएका छन् ।
प्रहरीलाई देखेर भागेपछि शंकालागि झोला खोलेर हेर्दा कालो पदार्थको ५ पोका भेटिएको र अनुसन्धानका लागि सो कालो पदार्थ प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा अफिम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । गत आषाढ १७ गते विहान करीब साढे ४ बजेतिर अफिम बरामद गरिएको भएपनि बरामद गरिएको वस्तुलाई काठमाडौ प्रयोगशालाबाट परीक्षण भएर पुष्टि भएपछि आज सार्वजनिक गरिएको प्रहरीको भनाई रहेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम १५ बर्ष सम्म कैद र २५ लाख रुपैयाँ सम्म जरिवाना हुने कानूनी प्रावधान रहेको बताएका छन् ।
मोटरसाईकल चालक र पछाडी सवार व्यक्ति पक्राऊका लागि खोजतलास शुरु गरिसकेको र चाँडै नै पक्राऊ पर्ने मकवानपुर प्रहरीको दाबी गरेको छ ।