बाढी,पहिरोका कारण २ महिनामा ९९ जनाको मृत्यु, ४८ जना बेपत्ता
जेठ र असार २ महिनामा नेपालमा ९९ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् ।
बाढी र पहिरोका कारण ८४ जना घाइते भएका छन् । असार ३१ गते बुधवारसम्म बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टा (मंगलवार बिहान १० देखि बुधवार बिहान १० बजेसम्म) मा विभिन्न जिल्लाका ७ स्थानमा पहिरो गएको छ ।
जेठ र असार महिनामा चट्याङका कारण १७ जनाको मृत्यु भएको प्राधिकरणको दैनिक विपद् बुलेटिनमा उल्लेख गरिएको छ ।