बोक्सी आरोपमा ४५ वर्षीय महिलामाथि अमानवीय व्यवहार

वीरगञ्ज । पर्सामा एक महिलालाई बोक्सीको आरोपमा अर्धनग्न बनाई, मोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा गराइएको छ ।
छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै पेटिकोटमै गाउँ परिक्रमा गराएका हुन् ।
जुत्ताको माला लगाइदिएर उनलाई गाउँ घुमाउँदा अन्य गाउँले तमासा हेरेर बसे । उनको देब्रे कुम, ढाड लगायत शरीरको विभिन्न भागमा कुटपीटका कारण बनेको निलडाम देखिन्छ ।
उनीमाथि गत असार ३१ गते दुर्व्यवहार भएको हो ।
गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानुलगायत आठ जनाविरुद्ध उनले जिल्ला प्रहरी कार्यालय पर्सामा अमानवीय व्यवहार कसुरमा उजुरी दिएकी छन् । बुधबार आरोपीहरुले पीडितलाई गाउँ घुमाइसकेपछि केही स्थानीयले प्रहरीलाई गोप्य रुपमा खबर गरेका थिए । बुडगाइँ प्रहरी चौकीबाट प्रहरी टोली गएर महिलाको उद्धार गरेको थियो ।
‘गाउँबाटै निकाल्न खोजेका रहेछन्, प्रहरी समयमै नपुगेको भए उनलाई भारततिर खेद्ने उनीहरुको योजना रहेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
आरोपित मध्येका ५५ वर्षीय मुन्नीलाल परदेशी भनिने मुन्नीलाल साह कानु, ४० वर्षीय राजदेव शर्मा ठाकुर, ३५ वर्षीया इन्दुदेवी ठाकुर र ३२ वर्षीया सन्ध्या देवीलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको छ । पर्सा जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरी म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिका सदस्य सुवास साह कानुलगायत फरार अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमानपछि छोरा गुमाउने चिन्ता
तीन वर्षअघि उनले श्रीमान गुमाएकी थिइन् । त्यसपछि तीन वर्षको अवधिमा उनले तीन पटकसम्म यस्तै दुर्व्यवहार सहनु परेको छ । अघिल्ला घटना भने गाउँमै गुपचुप तरिकाले मिलाइएको थियो ।
पाँच छोरी र एक छोराकी आमा उनी सासू, दूधे बालकसहितकी छोरीसहित घरमै बस्थिन् । अन्य चार छोरीको बिहे भइसकेको छ । गत बुधबार भएको घटनामा एक वर्षदेखि माइतमै बस्दै आएकी जेठी छोरीलाई समेत कुटपीट गरिएको छ ।
आमालाई बचाउन जाँदा आफूमाथि कुटपिट भएको उनले बताइन् । ‘आमालाई बचाउन जाँदा मलाई पनि कुटे,’ उनले भनिन् । नाबालक छोरासहित न्यायका लागि उनी पनि जिल्लामा आएकी छन् ।
पीडित महिलाको १४ वर्षका छोरा छन् । उनी मकवानपुरको हेटौंडामा ज्याला मजदुरी गर्थे । आमामाथि दुर्व्यवहार भएको थाहा पाएपछि उनी साइकल चढेर हेटौंडाबाट वीरगञ्ज आए । लकडाउनका कारण सार्वजनिक गाडी नचलेपछि उनी साइकलबाटै यात्रा गर्न बाध्य भएका हुन् । आमासँगै उनी पनि न्यायका लागि प्रहरी प्रशासन धाइरहेका छन् ।
छोरालाई पनि कुटपीट गरेर मारिदिन्छन् कि भन्ने डरले घर आफू जानसमेत नसकेको पीडित महिला बताउँछिन् । न्याय पाउने आशमा तीन दिनदेखि सदरमुकाममा बस्दै आएकी उनी भन्छिन्, ‘श्रीमान भएको भए मेरो यस्तो अवस्था आउने थिएन । घर जाउँ भने भएको एउटा छोरालाई पनि कुटेर मारिदिन्छन् की भन्ने चिन्ता लाग्छ ।’
जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर उनले आफूलाई दुर्व्वहार गर्नेहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरिन् । ‘कुनै सौखले म वीरगञ्ज आएको छैन । मलाई डाइन (बोक्सी) भन्दै केहीले कपाल काटे, दुवै हात गोडा बाँधेर, शरीरको कपडा फुकालेर घिसारे । बोक्सी गाउँमा रहन हुँदैन भनेर कुटपीट गरे,’ उनले भनिन्, ‘उनीहरुलाई जसरी पनि कारबाही हुनुपर्छ ।’
दुर्व्यवहारमा जनप्रतिनिधिको समर्थन
सात महिना पहिले पनि पीडित महिलामाथि बोक्सीको आरोप लागएर दुर्व्यवहार भएको थियो । एकल महिला भएका कारण उनको पक्षमा बोलिदिने कोही नभएपछि गाउँघरको मामला भन्दै घटनालाई गाउँमै दबाइएको थियो ।
तीन वर्षमा उनीहरुले तीन पटक यसैगरी कुटपीट र दुर्व्यवहार गरेको पीडित महिलाको भनाइ छ । ‘दुई ठाउँमा घर छ, भाँडा माझेर घर व्यवहार चलाएकी छु । म गल्ती गरुँ भनेर उनीहरु खोजी रहन्छन्,’ उनले भनिन्, ‘तीन वर्षमा तीन पटक यस्तै दुर्व्यवहार गरिसकेका छन् ।
गाउँका जनप्रतिनिधिहरु पीडित महिलाको पक्षमा लाग्नुको सट्टा उल्टै आरोपीलाई छुटाउन पैरवी गरिरहेको उनको भनाइ छ । ‘घरमा मालिक छैनन्, छोरा पनि बाहिर हुन्छ । आमा, छोरी र बुढी सासू छन् । दुई–चार जना छिमेकी हाम्रो घरमा कसरी घुस्न सक्छन् ?’ उनले भनिन्, ‘बाहिरबाट कसैले तागत दिएको छ र त उनीहरु यसरी पटक–पटक मेरो घरमा आउँछन् । ’
महिला अधिकारकर्मीको चासो
पीडित महिला आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी दिने क्रममा आँसु थाम्न सक्दिनन् । उनका ओठ सुकिसकेका छन् । लामो कपाल काटिएको छ । साडीको आँचलले टाउको छोपेर बस्छिन् । घरी खुट्टाको चोट देखाउँछिन्, त घरी कुटपीटका कारण शरीरमा बनेका निल डाम देखाउँछिन् ।
उनी मानसिक रुपमा विक्षिप्त भएको शंका लागेपछि महिला अधिकारकर्मी र पत्रकारहरुले उनलाई भेटेर सम्झाएका छन् । उनलाई हिम्मत नहार्न र बयान नफेर्न सल्लाह दिँदै अधिकारकर्मीले प्रहरीले गरिरहेको अनुसन्धान र कारबाहीबारे चासोसमेत राखेका छन् ।
महिला अधिकारकर्मी कोपिला चौलागाईले भनिन्, ‘प्रहरी कार्यालयबाटै पीडित महिलाले बोली फेरिरहेको भन्ने जानकारी आयो, मानसिक रुपमा विक्षिप्त भएकोले होला भन्ने भयो । उनलाई काउन्सिलिङ गरेर फर्केका छौं । घटनालाई प्रहरीले कसरी हेरिरहेको छ भनेर पनि जानकारी लियौं ।’
प्रहरी अनुसन्धानमा लापरबाही नहोस्, अभियुक्तहरुलाई सजायमा कमी नहोस र पीडितलाई दबाव र प्रभावमा पारेर बयान फेर्ने कोसिस नहोस् भनेर आफूहरुले निरन्तर चासो लिने उनको भनाइ छ ।
नेपाली कांग्रेसका जिल्ला सदस्य नविन सिंहले पनि महिलामाथि भएको दुर्व्यवहारको घटनाका आरोपीहरुलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
‘गरिब एकल महिला अर्काको घरमा भाँडा माझेर जीविकोपार्जन गर्दै आएका छन् । ४८ वर्षको उमेर छ, उनीमाथि चरित्रहिन र बोक्सीको लान्छना लगाएर अमानवीय दुर्व्यवहार गरिएको छ,’ उनले भने, ‘यस्ता निर्दयी मानिसहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । ताकि यसको डरबाट आगामी दिनमा अन्यत्र पनि यस्तो अमानवीय घटना नहोस् ।’
दोषीलाई कारबाही गर्छौं : प्रहरी
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले महिलामाथि अमानवीय व्यवहार गर्ने जो कोहिलाई कारबाहीका लागि कुनै कसर बाँकी नराख्ने बताए । ‘मान्छे भएर मान्छेलाई गर्न नहुने व्यवहार आरोपीहरुले गरेको पाइएको छ,’ उनले भने, ‘पीडितको तर्फबाट जाहेरी आइसकेको छ । बयान लिईसकेका छौं । घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिसकेका छौं । घटनामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउँछौं ।’
निर्दोष नफसुन् र दोषी नउम्किउन् भनेर प्रहरी सचेत रहेको बताउँदै उनले घटनाका प्रत्यक्षदर्शीहरुसँग समेत सोधपुछ गर्ने बताए ।
मुलुकी ऐनको फौजदारी संहितामा कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गरे कसुर गर्ने व्यक्तिलाई ५ वर्षको कैद र ५० हजारसम्मको जरिवाना हुने उल्लेख छ । त्यति मात्रै होइन, कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडा बापत मनासिब क्षतिपूर्ति भराइदिनु पर्ने उल्लेख छ । यस्तो घटनामा कसुर भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र उजुरी दिन पाइन्छ ।
स्रोतः अनलाईन खबर