हवाई उडान खुलाउन मन्त्रीपरिषदमा सिफारिस
काठमाडौं । संस्कृति पर्यटन मन्त्रालयले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुलाउन सिफारिस गरेको छ । मन्त्रालयले साउन २१ देखि आन्तरिक उडान र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुलाउन सिफारिस गरेको हो।
मन्त्री परिषद निर्णय भएपछि मात्र हवाईै उडान सुचारुहुने भएकाले मन्त्रालयले सो मिति देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउन मन्त्रिपरिषदको बैठकमा सिफारिस गरिएको जनाइएको छ ।
मन्त्रालयले दुवैतर्फका उडानमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर उडान गरिने जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणले यसको लागि सबै सुरक्षा मापदण्ड बनाइसकेको बताइएको छ । प्राधिकरणले विमानस्थल खुलाउनुअघि सुरक्षा मापदण्डसम्बन्धी प्रोटोकल, विमानस्थल सञ्चालनका लागि विमान यात्रु, विमान कम्पनी, कर्मचारी, विमानस्थलका लागि सुरक्षाको मापदण्ड अपनाउन निर्देशिका समेत जारी गरिसकेको छ ।
निर्देशिका अनुसार कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म भर्नुपर्ने लगायत व्यवस्था गरिएको छ।
प्राधिकरणको निर्देशिकाअनुसार ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएका, स्वाद तथा गन्ध थाहा नपाउने व्यक्तिले विमानमा यात्रा गर्न पाउने छैनन्।
३८ डिग्री सेल्सियस वा १०.४ डिग्री फारेन हाइट वा सोभन्दा माथि तापक्रम भएका व्यक्तिले पनि विमानमा यात्रा गर्न पाउने छैनन्।
यस्तै, विमानस्थलमा प्रवेश गरेदेखि गन्तव्यमा नपुगेसम्म मेडिकल मास्कको प्रयोग गरिरहनु पर्नेछ। मेडिकल मास्क प्रयोग नगर्नेलाई विमानस्थल प्रवेश गर्न नदिन प्राधिकरणले निर्देशन गरेको छ।
विमान सेवा दिँदा विमानभित्र पनि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले विमान कम्पनीहरुले शतप्रतिशत क्षमतामा यात्रु उडाउन पाउने छैनन्।
विमान कम्पनीले ५०र६० प्रतिशत क्षमतामा मात्रै हवाई सेवा दिनुपर्नेछ। सरकारले गत चैत ११ देखि लकडाउन लागू गरेदेखि चार्टर्ड उडानबाहेक हवाई सेवा बन्द छ।