फास्ट ट्रयाकको पहिरोले दर्जन घरमा क्षति, ४६ घर जोखिममा


मकवानपुर । निर्मााणाधीन काठमाडौं–तराई मधेस द्रूतमार्ग (फास्ट ट्रयाक)बाट पहिरो खसेर मकवानपुरको बकैया–५ का करिब ४६ घर विस्थापित हुने अवस्थामा पुगेका छन् ।
यो साताको अविरल वर्षापछि आएको पहिरोले उक्त क्षेत्रका ४६ घर जोखिममा परेको भन्दै स्थानीयले वैकल्पिक बासस्थानको व्यवस्था गर्न माग गरेका छन् ।
बुधबार बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको रोहबर तथा बकैया–५ का वडा अध्यक्ष शेरमान घलानको अध्यक्षतामा बसेको बैठकले उक्त वडाको भडौरा, मसाने, ढड्यान र बुदुने क्षेत्रका ४६ घर र १ सय ५० बिघा जग्गा जोखिममा रहेको भन्दै उचित क्षतिपूर्तिका लागि काठमाडौं तराई मधेस द्रूतमार्ग सडक आयोजना समक्ष माग राखेको छ । यो मार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ ।
यसै साता आएको पहिरोले करिब एक दर्जन घरमा क्षति पुगेको स्थानीय शिक्षक केदार अर्यालले जानकारी दिए । ‘निर्माणाधीन द्रूत मार्गको मुनि रहेको बस्ती उच्च जोखिममा रहेका छन्,’ उनले भने,‘यो साता आएको वर्षापछि उक्त क्षेत्रबाट खसेको पहिरोको कारण करिब एक दर्जन घरमा क्षति पुगेको छ ।
घरभित्रै बाढी पसेको छ । स्थानीयहरु त्रसित छन् ।’ स्थानीयले सुरक्षित स्थानमा बासस्थान दिलाउन माग गरेका छन् । उक्त क्षेत्रमा आएको पहिरोपछि पनि कुनै राहत नपाएको स्थानीयको गुनासो छ ।
‘फास्ट ट्रयाकबाट निस्केको ढुंगा–माटो तथा पहिरोको कारण २०६७ सालदेखि उक्त क्षेत्रको बस्तीलाई जोखिममा पारिरहेको छ,’ वडाअध्यक्ष घलानले भने, ‘उक्त वस्तिमा क्षति पुगेको र खेतीयोग्य जमिन बगरमा परिणत भइरहेको छ ।
जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न र उचित क्षतिपूर्ति दिन आवश्यक छ । द्रूतमार्ग आयोजनाले यस विषयमा ध्यान दिनु पर्छ ।’ वडा अध्यक्ष घलानले तत्काल निरीक्षण गरी बस्ती स्थानान्तरणका लागि द्रूतमार्ग आयोजनालाई सिफारिस समेत गरेको बताए ।
उनले पहिरोले क्षति पुर्याएका घर तथा खेतीबालीको क्षतिपूर्ति माग पनि गरेका छन् ।
कान्तिपुरमा खबर छ ।