त्रिविका सबै परीक्षा दशै अघि गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले बन्दाबन्दी खुलेसँगै रोकिएका सबै परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका सबै परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । उनले दशैं अगाडि नै रोकिएका सेमेष्टर र वार्षिक परीक्षा सञ्चालन गरिने जानकारी दिए ।
त्रिविले चाँडै नै परीक्षाका बारेमा सूचना प्रकाशित गर्नेछ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ । ‘पहिले हामीले १२–१३ किलोमिटर भित्रमा परीक्षा केन्द्र राख्ने गरेका थियौं’, उनले भने, ‘यसपटक भने विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राख्नेछौं ।’
त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ का कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् ।यसैगरी, पनिकाले बन्दाबन्दीका कारणले रोकिएका परीक्षाफल सार्वजनिक गर्न धमाधम काम गरिरहेको छ ।
उनका अनुसार स्नातकोत्तर तहका १२ विषय, कानून संकाय, मानविकी र व्यवस्थापनको स्नातक तहको प्रथम वर्षको परीक्षाफल प्रकाशन गर्न बाँकी रहेको छ ।
पनिकाले सबै परीक्षाफल प्रकाशित गर्नेछ । अब हुने परीक्षाको सम्पन्न भएपछि ३ महिनाभित्र प्रकाशन गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । उनले वार्षिक क्यालेन्डर मिलाउने गरी परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशन गरिने तयारी गरिएको बताए ।
रासस