किन सजिलै पाइन्छ एसिड ?

प्रतिशोध साध्ने घातक हतियारका रूपमा एसिड प्रयोग गर्ने प्रवृत्ति देखिए पनि यसको किनबेचमा सरकारले नियमन गर्न सकेको छैन ।
हेटौडा न्युज
११ श्रावण २०७७, आईतवार ०८:३०
;

काठमाडौँ । घटना भएपिच्छे एसिडको खुला बिक्री वितरणलाई बन्देज गरिनुपर्ने बहस चल्छन् । सेलाउँछन् । नियमनमा सरकार गम्भीर नहुँदा यो घातक रसायन प्रतिशोध साध्ने हतियार बनेको देखिएको छ ।

पछिल्ला ७ वर्षमा देशका विभिन्न भागमा १९ युवती र ३ पुरुषमाथि एसिड प्रहारका २१ घटना भएका छन् । तिनमा छ्यापिएको एसिड सुनचाँदी पसल, हार्डवेयर र ब्याट्री मर्मत केन्द्रबाट सस्तो मूल्यमा सजिलै किन्न पाउँदा दुरुपयोग भएको देखिन्छ । सहज उपलब्धताले पीडस्रोतः कान्तिपुर राष्ट्रिय दैनिककहरूले हात पारेर आवेशमा एसिड प्रहारका घटना भइरहेका छन् ।

घातक मानिएका हाइड्रोक्लोरिक र सल्फ्युरिक एसिडको बिक्रीवितरणलाई नियमन गरी कडाइ गर्न २०७६ साउन २६ मा सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको थियो । सल्फ्युरिक एसिड हार्डवेयरमा र नाइट्रिक एसिड सुन पसलमा सजिलै पाइन्छ । केही घटनामा पीडकले तिनै पसलबाट एसिड किनेको देखिन्छ । बारम्बार घटना हुँदै आए पनि सरकारले एसिडको बिक्रीवितरणलाई नियमन गर्न नसकेको घटनाहरूको अध्ययनबाट थाहा हुन्छ । गत बिहीबार साँझ सीतापाइलाबाट फर्किने क्रममा २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको घटनाका मुख्य अभियुक्त मोहम्मद आलमले कहाँबाट किनेका थिए भन्ने प्रस्ट भइसकेको छैन । तर सुरुवाती बयानमा उनले आफ्नो गार्मेन्ट फ्याक्ट्रीमा वर्षौं पहिले ट्वाइलेट सफा गर्न किनेको एसिड नै छ्याप्न प्रयोग गरेको बताएका थिए ।

दोस्रो बयानमा भने आफूले केही वर्ष पहिले मेसिन सफा गर्न काम लाग्छ भनेर एसिड किनेर राखेको बताएका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूले उनको कारखानामा छापा मार्दा एसिड पहिल्यै किनेर राखिएको भन्ने बलियो सबुत फेला परेन । वृत्तका डीएसपी नीरञ्जन भट्टले भने, ‘उनले एसिड कहाँबाट ल्याए भनेर यकिन भइसकेको छैन ।’ उनका अनुसार आलमले पठाएका मुन्ना महमदलाई गोजीमा अट्ने रक्सीको बोतलमा २ सय एमएल जति एसिड राखेर दिएको देखिन्छ । बोतलको मुख सानो भएकाले मुन्नाले छ्यापेपछि पनि थोरै एसिड बोतलभित्रै थियो, जसलाई उनले राति नै विष्णुमती खोलामा लगेर फ्याँके ।

गत फागुन २५ मा काठमाडौंको बालाजुमा रामराजा श्रेष्ठमाथि एसिड छ्यापिएको थियो भने सोही दिन कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ की ५१ वर्षीया वेदमतीदेवी गुप्तामाथि एसिड प्रहार भएको थियो । यी दुई घटनाको १२ दिनअघि अर्थात् १३ फागुनमा बाफल बस्ने २९ वर्षीय शिव रम्तेलले मदिराको सुरमा श्रीमती र १५ वर्षीया सालीलाई एसिड छ्यापेका थिए । यी घटनामध्ये बालाजुका रामाराजामाथि भने बियरको बोतलमा ल्याइएको एसिड छ्यापिएको थियो । उनीमाथि छ्याप्नेले कहाँबाट ल्याएका हुन् भन्ने अझै खुलेको छैन । बाफलका रम्तेलले भने शौचालय सफा गर्न भन्दै हार्डवेयरबाट किनेर ल्याएको एसिड छ्यापेका थिए । वेदमतीदेवीमाथि क्रिकेट ब्याट भाँचेको विषयमा छोरा र साथीहरूबीच झगडा उत्कर्षमा पुगेकै बेला गाउँमै ब्याट्री मर्मत गर्ने पसल सञ्चालक हरिनारायण बरईले आफ्नै पसलबाट एसिड ल्याएर छ्यापेका थिए । घटनालगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाले उनको पसलबाट ५ लिटर एसिड बरामद गरेको थियो ।

स्वयम्भूसहितका यी चारै घटनामा देखिने समानता भनेको एसिडको सहज उपलब्धता नै हो । त्यसअघिका घटनाका पीडकले पनि प्रतिशोध साध्नकै लागि सहज र थोरै पैसामै एसिड किनेर सजिलै ओसारपसार गरेको देखिन्छ । २१ भदौ २०७६ मा स्कुलबाट घर फर्किरहेकी मुस्कान खातुनमाथि वीरगन्जमा एसिड प्रहार भएको थियो । उक्त घटनाका मुख्य अभियुक्त सम्साद आलमले प्रहरी बयानमा स्थानीय हार्डवेयरबाट एसिड किनेर ल्याएको बताएका थिए । २०७६ जेठ १ मा कालोपुलमा डेरा गरी बस्ने २० वर्षीया जेनी खड्कामाथि उनकै श्रीमान् विकास भनिने विष्णु भुजेलले एसिड छ्यापेका थिए । प्रहरी अनुसन्धानमा विष्णुले काभ्रेको एक सुनचाँदी पसलबाट एसिड किनेको खुलेको थियो । २०७१ फागुन १० मा ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि वसन्तपुरमा एसिड प्रहार भएको थियो । यो घटनामा मुख्य अभियुक्त जीवन विकले नयाँ सडकको एक वर्कसपबाट एक सय २५ रुपैयाँमा एसिड किनेको खुलेको थियो ।

८ फागुनमा एम्नेस्टी इन्टरनेसनल नेपालले खुलेआम एसिड बिक्री वितरणलाई रोक्नुपर्ने माग गर्दै ३३ हजार हस्ताक्षर संकलन गरेर गृह मन्त्रालयलाई बुझाएको थियो । तर त्यस्तो हस्ताक्षर बुझ्ने बेलामा ‘कडाइ गर्छौं’ भनेका गृहका अधिकारीको वचन कार्यान्वयनमा आएन । घटना ह्वात्तै बढेपछि बंगलादेशले सन् २००२ मा एसिडको खुला बिक्री वितरणलाई रोक्ने र प्रहार गर्नेमाथि जन्मकैद हुने गरी कानुन बनाएको थियो ।

एसिड बिक्रीवितरण र ओसारपसारमा कडाइ नगरिँदा सीमा, संगीता, जेनी, मुस्कान र पवित्रा जस्ता किशोरीहरूले अनाहकमा एसिडको जलन सहनुपरेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल कडा कानुनको अभाव र एसिडको सहज बिक्रीवितरणको मूल्य किशोरीहरूले चुकाउनुपरेको बताउँछन् । एसिडको बिक्री वितरणमा प्रभावकारी नियमनको जरुरी ठान्ने उनी भन्छन्, ‘यसलाई नियन्त्रण गर्न कानुन नै कडा बनाइनुपर्छ । आजीवन कारावास वा जन्मकैद वा कारावासबाट छुटेपछि राज्यबाट दिइने निश्चित सेवासुविधाबाट वञ्चित जस्ता विषय कानुनमै समेटिनुपर्छ ।’

स्रोतः कान्तिपुर राष्ट्रिय दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*