वीरगञ्जमा कोरोनाका कारण थप एकको मृत्यु

वीरगञ्ज । नेपालमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुनेमा वीरगञ्जका ५६ वर्षीय पुरुष रहेको जनाइएको छ ।
वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालले जनाएको छ ।
मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।
बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति मृत्यु भएको कोरोना अस्पताल गण्डकले जनाएको छ ।
बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो ।
योसँगै पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।