आज मुस्लिम समुदायले बकर इद मनाउँदै, घरमै बसेर नमाज पढ्न आग्रह
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।
इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
तर यस वर्ष भने कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गर्नुभएको हो।
इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएको उल्लेख गर्दै आयोगले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यो पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गरेको हो ।
कोरोनाका कारण लामो समयदेखि व्यक्तिगत दूरी कायम गरी साविकदेखि नै दैनिकरूपमा मस्जिदमा पाँच जनाले मात्रै नमाज पढ्दै आएका छन् । नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ ।










