जेलबाट फरार कैदी पक्राऊ

मकवानपुर । मकवानपुर प्रहरीले जेलबाट फरार रहेका कैदीलाई पक्राऊ गरी आज सार्वजनिक गरेको छ । मकवानपुरको भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय भोगिरहेका सुनसरी रामधुनी नगरपालिका–७ का कुलदीपराज धामी गत कार्तिक ३० गते कारागारबाट भागेका थिए ।
धामीले सोही स्थानका रोजिन गुरुङलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले खोजतलास गर्ने क्रममा गत शुक्रबार नवलपरासी जिल्लाको देवचुली नगरपालिकाको रजहर पुल छेऊबाट पक्राऊ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताएका छन् ।
पक्राऊ परेका कैदी धामीलाई पुनः भीमफेदी कारागार चलान गरिने प्रहरीले बताएको छ । प्रहरीका अनुसार कैद भुक्तान नगरी जेलबाट भागेमा बाँकी सजायमा डेढ गुणा थप सजाय हुने प्रावधान रहेको जनाईएको छ ।