कोरोनाका कारण १२ वटा जिल्लामा निषेधाज्ञा
काठमाडौं । कोरोना संक्रमण फैलन नदिन देशका १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरीएको छ । कोरोना संक्रमणको बढ्दो संख्यालाई नियन्त्रण गर्ने उद्देश्यले मंगलबार साँझसम्म ती १२ वटा जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
पछिल्लो समय सरकारले संक्रमणको अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि ती जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार १२ जिल्ला मध्ये केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।
सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।
जिल्लामा संक्रमणको अवस्था हेरेर थप जिल्लाले समेत निषेधाज्ञा जारी गर्नुपर्ने वा नपर्ने निर्णय गर्ने अधिकार जिल्लास्थित प्रमुख जिल्ला अधिकारीले गर्ने प्रवक्ता बुढाले बताए ।










