४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना पुष्टि
वीरगन्ज । पर्सामा ४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका १ सय ४२ जना संक्रमितमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा रहेको जनाइएको छ ।
त्यस्तै पर्साको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको परिवारका थप तीन जना सदस्यहरुमा संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमा २२ जना महिला रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।
संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका रहेको उनले बताए । संक्रमित मध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङका क्रममा पत्ता लागेको डा. उपाध्यायले बताए ।
संक्रमितमध्ये २८ जना वीरगन्ज महानगरपालिका–२८ सिर्सिया, खल्वा टोलाका रहेका छन् । गत साउन १८ मा महानगरपालिकाले उक्त वडामा ‘मास ट्रेसिङ’ गरी स्वाब संकलन गरेको थियो ।
वीरगन्ज–१० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ । १० संक्रमित वीरगन्जको श्रीपुर र मर्लीका बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले विभिन्न मितिमा पक्राउ परेका थुनुवा र प्रहरीको स्वाब संकलन गर्दा ४३ जना थुनवा र एक प्रहरीमा संक्रमण पुष्टि भएको बताए ।










