सभामुख श्रेष्ठसहित प्रदेश सभाका कर्मचारीको कोरोना परीक्षण हुँदै
मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसहित प्रदेश सभा सचिवालयका सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको छ । सभामुख श्रेष्ठ सहित प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्का, कानून अधिकृत बिनोद अमात्य लगायत प्रदेशसभा सचिवालयका सबै कर्मचारीहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्नको लागि स्वाब संकलन गरिएको हो ।
संघीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएपछि बागमती प्रदेशका सभामुखसहित कर्मचारीहरुको कोरोना परीक्षण गरिने भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बागमती प्रदेशका सभामुखसहितले संक्रमित पाण्डेसंग भेटवार्ता गरेका थिए ।
उनीहरुलाई कोरोनाको संक्रमण भए–नभएको आजै साँझ ५ बजेसम्म थाहा हुने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीहरुको हेटौँडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्वाब परीक्षण भइरहेको छ ।