कोरोनाले बढायो आत्महत्या, विभेद र गरीबी मुख्य कारण
काठमाडौं । युरोपेली मुलुक र चीनमा कोरोना संक्रमणले तान्डव मच्चाइरहेको लामो समयसम्म नेपाल विश्व स्वास्थ्य संगठनको रेड जोनभन्दा बाहिर थियो । तर, पछिल्लो दुई महिनामा नेपालमा कोरोना संक्रमणको संख्या यसरी बढ्यो कि मृत्यु हुनेको संख्या नै ७५ नाघिसकेको छ ।
धनुषाको हंसपुर नगरपालिका- ७ का १६ वर्षीय राजु सदाको उपचार अभावमा झाडा पखालाले तड्पी-तड्पी ९ असारमा आइसोलेसनमै मृत्यु भयो । आइसोलेसनमा बसेको १० दिनपछि नमुना संकलन गरिएको राजुको १४ दिनपछि आएको रिपोर्ट भने कोरोना नेगेटिभ थियो ।
कोरोनाको त्रास, कोरोना कहरले निम्त्याएको अनिश्चित भविश्यका कारण आत्महत्याको बाटो रोज्नेहरुको संख्या पनि निकै लामो छ । यो तीन महिनामा क्वारेन्टिनमै धेरै जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । कतिपय त कोरोना संक्रमण जितेर घर फर्किएपछि समाजिक विभेद सहन नसकेर पनि आत्महत्या गर्न बाध्य भएका छन् ।
कोरोना भाइरसको पुष्टि भएकै दिन खप्तडछान्ना गाउँपालिका ७ लामागाडाका १८ वर्षीय शेर राउतले क्वारेन्टिनमै आत्महत्या गरे । भारतको मजदुरीबाट फर्किएका राउत लामागाडा प्राविको क्वारेक्टाइनमा बसेका थिए ।
परीक्षणका क्रममा उनको आरडीटी पोजेटिभ देखियो । त्यसपछि पीसीआर गरियो । दुर्भाग्य उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ नै देखियो । शेरले त्यही दिन १९ असारको साँझ क्वारेन्टिनमै झुण्डिएर आत्महत्या गरे ।
‘कोरोना लागेको कुरा कसैले सुनाइदिएछ’, गाउँपालिकाका अध्यक्ष बर्कबहादर रोकायाले भने’, ‘उनका आमाबाबा पनि थिएनन् । आफ्नो साहारा कोही नभएपछि रोगी जिन्दगी किन बाँच्ने भनेर आत्महत्या रोजे छ ।’
शेर लामो समय मामाघरमा बसेर मजदुरीका लागि भारत पुगेका थिए । तर, लकडाउन भएपछि नेपाल फर्किएका उनले क्वारेन्टिनमै प्राण त्यागे ।
क्वारेन्टिनमै आत्महत्या गर्ने अर्का व्यक्ति हुन् बाजुराको बडीमालिका नगरपालिका २ का भूपेन्द्र दमाई ।
भूपेन्द्र करिब १७ वर्ष भारतमा मजदुरी गरेर बिताएपछि २८ जेठमा सपरिवार स्वदेश फर्किएका थिए । उनको परिवारलाई बडीमालिका नगरपालिका-२ भौनेराको सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । भूपेन्द्रको आर्थिक अवस्था निकै कमजोर थियो भने दमलगायतका रोगले ग्रसित थिए ।
श्रीमती कलमति भन्छिन्, ‘उहाँ बिरामी भएकाले अलिअलि कमाएको पैसा पनि औषधिमै सकियो । हामी रित्तो हात नेपाल फर्किएका थियौँ ।’
आरडीटी परीक्षणमा भूपेन्द्रको रिपोर्ट पोजेटिभ देखियो । स्वाव पीसीआरको लागि पठाइयो । तर, ४५ वर्षीय भूपेन्द्रले पीसीआर रिपोर्ट आइनपुग्दै ३० जेठमा क्वारेन्टिनमै झुण्डिएर आत्महत्या गरे ।
‘सधैंभरि यस्तो जिन्दगी लएर कति बाँच्नु भन्ने निराशाले गर्दा आत्महत्या गरेको देखिन्छ’, नगरपालिकाकी उपमेयर कविता विष्ट भन्छिन्, ‘उहाँहरुलाई क्वारेन्टिनबाट फर्किएपछि कहाँ बस्ने र के खाने भन्नेसम्मको स्थिति थियो ।’
कविताका अनुसार दुई दिनपछि उनको शव दाहासंस्कार गरियो । तर, पीसीआर रिपोर्ट भने ५ असारमा मात्र आइपुग्यो । जुन पोजेटिभ थियो ।
काभ्रेको बेथानचोक गाउँपालिका-२ स्थित स्वास्थ्य चौकीको छुट्टै भवनमा क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले २३ साउनमा आत्महत्या गरिन् । दुबईबाट फर्किएकी उनी छ दिनदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन् । युवतीले दिउँसै कोठाभित्र झुण्डिएर आत्महत्या गरेपछि अफन्तले स्वास्थ्य चौकी नै तोडफोड गरेका थिए । क्वारेन्टिन व्यवस्थापनमा लापरबाही भएका कारण युवतीले आत्महत्या गर्न बाध्य भएको आफन्तको आरोप थियो ।
आत्महत्यापछि पीसीआर रिपोर्ट
क्वारेन्टिनमा बसेको १६औँ दिनमा अर्घाखाँचीको शीतगंगा ५ का ४५ वर्षीय देवबहादुर विकले पनि आत्महत्याको बाटो रोजे ।
भारतबाट १० जेठमा आएका देवबहादुर हरि माविको क्वारेन्टिनमा थिए । २४ जेठमा देवबहादुरको आरडीटी रिपोर्ट पोजेटिभ आएको थियो । त्यही दिन नै उनको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइयो । उनले पनि पीसीआरको रिपोर्ट नआउँदै ३ असारमा क्वारेन्टिनमै झुण्डिएर देह त्याग गरे । उनको पनि मृत्यु भएको तीन दिनपछि मात्र पीसीआर रिपोर्ट पोजेटिभ देखियो ।
उनी मजदुरीका लागि भारत गएको छोटो समयमै नेपाल फर्कनु परेको थियो । घरमा भएका बाबाले औषधि खाइरहनु पर्थ्यो । वडाध्यक्ष कमल पौडेलले भने, ‘घरको ऋण थियो । बाबा पनि बिरामी । आफू पनि रोगी भएको कारण ऋणकै भारीले आत्महत्या गरेको देखिन्छ ।’
देवबहादुर पीसीआर रिपोर्ट आउने प्रक्रिया पनि दोहोरियो । मृत्युको आठ दिनपछि आएको उनको पीसीआर रिपोर्ट पोजेटिभ थियो ।
१० असारमा सरकारले तय गरेको चार्टर उडानमार्फत् दुबईबाट आफ्नै लगानीमा नेपाल फर्किएका अहिभान सार्की पनि क्वारेन्टिनबाट घर फर्किएनन् । दुबई पुगेको सात महिनामै कोरोना कहरका कारण उनी घर फर्कनु परेको थियो ।
गंगादेवी गाउँपालिका ५ रोल्पाका अहिभानलाई टाडागाउँको गोठमा क्वारेन्टिनमा राखिएको थियो । तर, उनले क्वारेन्टिन बसेको नवौ दिनमा अर्थात असार १७ गते क्वारेन्टिनमा पासो लगाएर आत्महत्या गरे । गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले भने, ‘उसलाई पहिल्यैदेखि आफूमा संक्रमणको अनुभूति भएको देखिन्छ । त्यही डरका कारण आत्महत्या गरेको हुनुपर्छ ।’
उनको मृत्यूमा कोरोनाको डर मात्र नभएर अभावले पनि उत्तिकै भूमिका खेलेको देखिन्छ । गरीब समाजमा हुर्किएका अहिभानलाई छोटो समयमै विदेशबाट फर्किनुपर्दा ऋणको भारले पनि घाटीमा पासो लगाउने बाध्यता सिर्जना भएको स्थानीय बताउँछन् । उनको मृत्यू हुँदासम्म न आरडिटी परीक्षण गरिएको थियो, न त पीसीआर नै ।
‘१४ दिन क्वारेन्टिन बसेपछि मात्र आरडीटी गर्ने प्रावधान थियो । त्यसलै आत्महत्यापछि मात्र मृतकको पीसीआर टेस्ट स्वाब पठायौँ’ अध्यक्ष वीरबहादुरले भने, ‘पीसीआर रिपोर्ट आउनका लागि एकहप्ता नै लाग्यो ।’ अहिभानको पनि पसिआर रिपोर्ट पोजेटिभ नै आयो ।
वैशाखसम्म कोरोनाको संक्रमणले भन्दा त्रासले नेपालीलाई त्राहिमान पारेको थियो । लकडाउनकै बीच काठमाडौबाट घर पुगेका रौतामाई गाउँपालिका ७ उदयपुरका १८ वर्षीय सुवन विकले १९ वैशाखमा क्वारेन्टिनमै आत्महत्या गरे ।
गत मंसिरमा मात्र परिवार थरकी युवतीसँग अन्तरजातीय बिहे गरेका सुवन पहिलोपटक पत्नीसहित घर पुगेका थिए । काठमाडौंमा मजदुरी गरेर ज्यान पालेका सुवित दम्पत्ति ११ वैशाखमा जनता क्याम्पसको क्वारेन्टिनमा बस्न पुगेका थिए ।
तर, क्वारेन्टिन बसेको आठौँ दिनमा उनले श्रीमतीको सलको पासो लगाएर प्राण त्याग गरे । वडासदस्य फूलकुमारी बिक भन्छिन्, ‘राति श्रीमतीसँग राम्रैसँग गफ गरेर सुतेका रहेछन्, बिहान स्कुलको झ्यालमा झुण्डिएको अवस्थामा भेटिए ।’
सवनको अन्तरजातीय विवाहलाई समाजले पचाइसकेको थिएन । समाजको दोहोरो विभेदका कारणले पनि सुवनले आत्महत्या गरेको फुलकुमारीको तर्क छ ।
गुल्मीको छत्रकोट गाउँपालिका-४ दिगामस्थित आदर्श माविमा क्वारेन्टिनमा राखिएका स्थानीय ५६ वर्षीय चन्द्रबहादुर परियारले पनि क्वारेन्टिनै प्राण त्याग गरे ।
उनी पनि मजदुरीको नयाँदिल्ली पुगेर फर्किएका थिए । सुनौली नाकाबाट उद्धार गरी ल्याइएका चन्द्रबहादुरलाई आदर्श माविको क्वारेन्टिनमा राखियो । क्वारेन्टिनमा उनी एक्लै थिए । तर, १७ बैशाखमा २ सय मिटर परको रुखमा गलबन्दीले पासो लगाएको अवस्थामा भेटिए ।
‘बिहान क्वारेन्टिनमा बसेका चन्द्रबहादुरले साँझ आत्महत्या गरेछन्’, वडाअध्यक्ष डिल्लीराम न्यौपाने भन्छन्, ‘उनी पहिल्यैदेखि अत्यधिक मदिरापान गर्थे । तर, अत्महत्याको कारण हामीलाई थाहा हुने कुरा भएन ।’
लमुजुङको होलासोथर गाउँपालिका – ९ गिलुङस्थित बुद्धोदय माविको क्वारेन्टिनमा बसेका २३ वषर्ीय युवराज घर्तीले पनि २ साउनमा झुण्डिएर आत्महत्या गरे । ३१ असारमा वुटवलबाट फर्किएका घर्तीले १ साउनमा बुद्ध माविको क्वारेन्टिन लगेकै साँझ आत्महत्या गरेको गाउँपालिका अध्यक्ष प्रेम घले बताउँछन् । अविवाहित युवराज बेला-बेला थुनामा परेको र उनीमाथि थुप्रै मुद्दा रहेको पनि घले बताउँछन् ।
घर फर्केपछि आत्महत्या
घरपरिवार, आफन्त र समाजको त्यही दुर्व्यवहार सहन नसकेर धनुषाको मिथिला बिहारी नगरपालिका २ का ३५ वर्षीय विश्वेश्वर यादवले झुण्डिएर आत्महत्या गरे ।
मिथिला बिहारी नगरपालिका २ का ३५ वर्षीय विश्वेश्वर पत्नी र चारजना सन्तानलाई घरमै छोडेर रोजगारीका लागि माघमा नयाँ दिल्ली पुगेका थिए । लकडाउनले उनको रोजगारीमा धक्का लाग्यो र गाडी रिर्जव गरेर महोत्तरीको भिठामोड नाकासम्म आइपुगे । त्यहाँबाट नगरपालिकाले पठाइदिएको ट्रक चढेर गाउँ फिरे ।
उनी पर्शुराम तलाउ माविको क्वारेन्टिनमा बस्न थाले । २६ असार स्वाब दिएका विश्वेश्वरको संक्रमण रिपोर्ट १ साउनमा मात्र आइपुग्यो । उनलाई आइसोलेसनमा सारियो । पुनः पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी १० साउनमा घर पुगे ।
तर, समाजको त परको कुरा, आफ्नै घरभित्र पनि उनी छिर्न पाएनन् । उनलाई पातमा खान दिइयो । परिवारले दुरदुर गर्न थाले । स्थानीय राजकिशोर रजकका अनुसार उनको पीसीआर रिपोर्ट समयमा आइपुगेन । समाज र घरको तिरस्कारलाई पचाउन नसकेर उनले घर नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरे ।
पत्नी मञ्जू भन्छिन्, ‘कोरोनाले मेरो संसार उजाड गरिदियो । अब छोराछोरीलाई कसरी पाल्ने ?’
दुल्लु नगरपालिका १० दैलेखका २१ वर्षीय ऋषि जैसीले पनि क्वारेन्टिनबाट फर्किएलगत्तै आत्महत्या गरे । २४ जेठसम्म पञ्चकोशी माविको क्वारेन्टिनमा बसेर घर फर्किएका थिए ।
उनको आरडीटी नेगेटिभ आएको थियो । १४ वर्षअघि भारत गएका उनका बुबा फर्किएका थिएनन् । घरमा आमा एक्लै थिइन् । ऋषि र दुई भाइले भारतमा मजदुरी गरेर घर धानेका थिए ।
परिवारका सबै सदस्य एकैपटक भेट भएपछि घर उज्यालिएको थियो । तर, उनीहरुको खुशी लामो समय टिकेन । जेठा छोरा ऋषि ९ असारमा घर नजिकैको खेतमा झुण्डिएको अवस्थामा फेला परे । वडाअध्यक्ष हर्कबहादुर खड्का भन्छन्, ‘उनको मृत्युपछि पीसीआर टेस्टका लागि उनको स्वाव पठाइयो । पीसीआर परीक्षणमा भने उनमा कोरोना पोजेटिभ देखिएको थियो ।’
सिम्ता गाउँपालिका ८ सुर्खेतकी २५ वर्षीया युवतीले पनि क्वारेन्टिनबाट फर्किएको भोलिपल्ट नै मृत्युवरण गरिन् । श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट १२ जेठमा गाउँ फर्किएर १४ दिन क्वारेन्टिनमा विताएका थिए । आरडिटी नेगेटिभ देखिएपछि घर फर्किएकी उनी १ असारमा जंगलमा झुण्डिएको अवस्थामा भेटिइन् । मृत्यु पश्चात गरिएको उनको पीसीआर रिपोर्ट भने कोरोना पोजेटिभ आएको थियो ।
बर्दियाको क्वारेन्टिनमा आत्महत्या गरेका अछाम बन्निगढी गाउँपालिकाका रामबहादुर साउँदको पनि आत्महत्यापछि मात्र पीसीआर पोजेटिभको रिपोर्ट आइपुग्यो । बर्दियाका ठाकुरबाबा नगरपालिका ४ सैनबार क्वारेन्टिनमा बसेका उनले क्वारेन्टिनपछिको रुखमा तन्नाले पासो लगाएर आत्महत्या गरेका थिए । दुई दिनअघि भारतबाट कैलाली हुँदै बर्दिया आफन्तकहाँ पुगेका उनलाई क्वारेन्टिनमा राखिएको थियो ।
इलामका ३८ वर्षीय युवराज बागदाससहित बझाङ, तनहुँ र डडेल्धुरा, गोरखामा पनि एक/एकजनाले क्वारेन्टिनमा आत्महत्या गरेको प्रहरी बताउँछ ।
अव्यवस्थित क्वरेन्टाइन
‘मानिसहरुले मानवीय सम्वेदना घटेर प्रेम स्नेह नपाएपछि कतिपय मानिसहरुले क्वारेन्टिनमा आत्महत्या गरेको हुनुपर्छ’, समाजशास्त्री प्राडा. सन्ध्या बस्नेतले भन्छिन्, ‘अति निराशाले गर्दा मानिसले आत्महत्या गर्छन् । अलिकति सकारात्मक सोच्नेवित्तिकै मानिस आत्महत्याबाट बच्छ ।’
मनोसामाजिक र मानसिक स्वास्थ्यको क्षेत्रमा अनुसन्धान गरिरहेका पिताम्बर कोइरालाले अव्यवस्थित क्वारेन्टिन र कोरोनाको त्रासले पनि मानिसहरुले आत्महत्या गरेको बताउँछन् ।
टीपीओ नेपालका कार्यक्रम संयोजकसमेत रहेका कोइरालाको टिमले यो वीचमा देशका विभिन्न क्वारेन्टिनमा पुगेर मनोपरामर्शको काम गरेको थियो ।
‘धेरै ठाउँबाट मानिसहरु दुःख खेप्दै क्वारेन्टिनमा बस्न आएका थिए । तर, प्रायः क्वारेन्टिनहरु व्यवस्थित थिएनन्’, कोइराला भन्छन्, ‘क्वारेन्टिनमा बसेकाहरुमा सकरात्मक सोच आउने वातावरण नै नहुँदा मानिसहरु आक्रोशित थिए । सकरात्मक अन्तरक्रियाको पनि वातावरण थिएन । कतिले यही कारण आत्महत्या गरे ।’
उनका अनुसार क्वारेन्टिनमा बसेकाहरुलाई धेरैले हेय र दुरदुरको दृष्टिले हेर्ने परिपाटी थियो । ‘विदेशबाट आएका अधिकांशलाई आर्थिक क्रियाकलापबाट विमुख हुनुपर्दाको समस्याले पिरोलेको थियो’, कोइराला भन्छन्, ‘तर, कोरोना लिएर आएको, पेट बोकेर आयो कि भन्ने जस्ता समाजले गर्ने लान्छनाको कारण क्वारेन्टिनमा बस्नेहरुको मानसिकता विच्छिप्ततामा पुर्याएको थुप्रै ठाउँमा देखेको छु ।’
सरकारले तोकेको मापदण्डभन्दा धेरै लामो समयसम्म क्वारेन्टिनमा राखेको र यसका कारण मानसिकतामा गहिरो असर परेको उनको भनाइ छ ।
तथ्यांकले नै भारतबाट आएका अधिकांशमा बाँच्ने आश कम हुने र घर र समाजबाट आउन सक्ने सम्भावित विभेद सम्झेर पनि गलत मानसिकता बोकेर बसेको उनको भनाइ छ । ‘भेटेका मान्छेहहरुमा पाँच, छ, सात नम्बरतिर जाँदै गर्दा सबैभन्दा बढी मानिसहरु आक्रोशित देखिन्थे । क्वारेन्टिनमा केही व्यवस्था नहुँदा सरकारप्रति अत्याधिक आक्रोशित थिए’, कोइराला भन्छन्, ‘कतिपय ठाउँमा क्वारेन्टिनमा कुटिएका थिए भने कतिपय ठाउँमा जनप्रतिनिधिहरुलाई नै कुटपिट गर्नेजस्तो गतिविधिमा उत्रिएका थिए ।’
नेपालमा दैनिक औसत १६ जनाले आत्महत्या गर्ने र योबीचमा उक्त तथ्यांक भने बढेको कोइरालाको भनाइ छ । यद्यपि क्वारेन्टिनमा भएका सबै आत्महत्यालाई भने यसरी सामान्यीकरण गर्न नमिल्ने कोइरालाको तर्क छ ।
स्रोतः अनलाईन खबर