आईपीएलको मुख्य प्रायोजकका लागि बोलपत्र आह्वान
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकका लागि बोलपत्र आह्वान गरेको छ । भारतको क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकका लागि बोलपत्र आह्वान गरेको हो ।
बीसीसीआईले सोमबार एक विज्ञापन जारी गर्दै यस सिजनको आईपीएलको मुख्य प्रायोजकका लागि बोलपत्र आह्वान गरेको छ ।
बीसीसीआईले यसअघि मुख्य प्रायोजक रहेको चिनियाँ मोबाइल कम्पनी भिभोसँग सम्झौता रद्द गरेको थियो । बीसीसीआईले भारत–चीन सीमा विवादका कारण चिनिया कम्पनी भिभोसंग सम्झौता रद्द गरेपछि आईपीएलको लागि नयाँ प्रायोजक खोजि कार्य गरीरहेको छ ।
बीसीसीआईले भिभोसँग २०२२ सम्मको लागि सम्झौता गरे पनि पछिल्लो समय उत्पन्न तनावले गर्दा सम्झौता तोडिएको हो । आईपीएलको मुख्य प्रायोजक वापत भिभोले वार्षिक ४ सय ४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई उपलब्ध गराउँदै आएको थियो ।
बीसीसीआईले अब नयाँ प्रायोजक अधिकारका लागि अगष्ट १४ सम्ममा इच्छुक कम्पनीले आवेदन दिनु पर्ने जनाएको छ । यस्तै आईपीएलको मुख्य प्रायोजक बन्न दावी गर्ने कम्पनीले कम्तिमा ३ सय करोड भारु भन्दा माथिको कारोबार हुनुपर्ने बीसीसीआईले जनाएको छ ।
बीसीसीआईले मुख्य प्रायोजक अधिकार यस वर्ष अगस्ट १८ देखि डिसेम्बर ३१ सम्म मात्र रहनेसमेत जनाएको छ ।
कोरोना भाइरस महामारीले गर्दा यस सिजन तोकिएको मितिमै आईपीएल हुन नसकेको हो । भारतमा अहिले कोरोना संक्रमण बढिरहेकाले १३औं सिजनको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने तय भएको छ ।
भारत सरकारले पनि युएईमा आईपीएल गर्न अनुमति दिइसकेको छ ।










