गहना किनेर पैसा नतिरी भाग्ने एक महिला पक्राउ
काठमाडौं । सुनचाँदीका गहना किनेर पैसा नतिरी भाग्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । चार लाख ३६ हजार रुपैयाँ बराबरका गहना किनेर पैसा नतिरी फरार भएकी झापाकी शारदा मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
उनले सिक्री, सुनको लकेट, बाला, सुन र हिराको औँठी लगायतका गरगहना बनाएको र एक सहकारी संस्थाको नक्कली चेक दिएर ठगेको प्रहरीले जनाएको छ ।
नयाँ बानेश्वरकी रमिता रञ्जित श्रेष्ठको उजुरीको आधारमा मगरलाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
उनले सुनका गरगहना किनेपछि व्यापारीलाई दिएको चेक साट्न जाँदा उनको बैंक खातामा पैसा नहुने पाइएपछि व्यापारी ठगिएका हुन् । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ ।










