सिन्धुपाल्चोक पहिरोः ११ जनाको शव फेला, २७ जना अझै बेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदी लामागाउँमा गएको पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शवफेला परेको छ । पहिरोले पुरिएर बेपत्ता भएका ११ जनाको शव शुक्रबार फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ र ४ महिनाका रेमिश दोङ रहेका छन् ।
मृतकको शवको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टिको तयारी गरिएको छ ।
पहिरोमा पुरिएर घाइते भएका पाँच जनाको काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा आहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका ५५ जनाको टोली मिलेर साबेल, कोदालोको भरमा बाँकी २७ जना बेपत्ता खोजी गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए ।
।