सिन्धुपाल्चोक पहिरोः थप तीन जनाको शव फेला, १७ जना अझै बेपत्ता
काठमाडौं। सिन्धुपाल्चोमा गएको पहिरोमा पुरिएका थप ३ जनाको शव फेला परेको छ । जुगल गाउँपालिका–२ लिदी, लामा गाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
१९ जनाको शव यसअघि नै फेला परिसकेको थियो । सोमबार बिहान थप ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता ३९ जनामध्ये अहिलेसम्म २२ जनाको शव भेटिएकोमा १७ जना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार हालसम्म ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ८ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङको शव फेला परेको छ ।
त्यस क्षेत्रमा एक्स्काभेटर लैजान नसकिँदा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बेपत्ताको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।










