महिलामाथि सामुहिक बलात्कार, घटना मिलाउनमा बार्गेनिङ

महोत्तरी । महोत्तरीमा बोल्न नसक्ने महोत्तरी रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरकी ३५ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् ।
पीडित पक्षले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार महोत्तरीको औरही नगरपालिका–९ भवानीपुरका २६ वर्षिय जितु मण्डल र सोही उमेरका खुर्के मुखियाले जबरजस्ती गरेका थिए ।
मुखमा रुमाल बाँधेर घरनजिकैको उखु बारीमा लगेर दुई युवाले बलात्कार गरेको स्थानीयले बताएका छन् । घटनास्थलबाट स्थानीयको सहयोगमा मोबाइल र कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
पीडित पक्षले जाहेरी दिएको झण्डै महिनासम्म पीडकलाई प्रहरीले नियन्त्रणमा लिएको छैन । बलात्कृत महिला तीन सन्तानकी आमा हुन् । घटना मिलाउनमा ६ लाख रुपैयाँको बार्गेनिङ भइरहेको अडियोसमेत सार्वजनिक भएको छ ।
मुलुकी अपराध संहितामा जबर्जस्ती कारणीलाई जघन्य अपराधमा राखी २० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।