युवा पुस्ताले पितृ प्रतिको दायित्व पूरा गर्नु पर्छ

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १६:०३
;

मकवानपुर । आज कुशे औंशी अर्थात चन्द्र बिनाको चुक झै अध्यारो रात, आजको दिनमा कुशलाई घर–घरमा ल्याईन्छ् । कुश बैज्ञानिक, धार्मिक दुबै हिसाबले उतिकै महत्वपूर्ण छ । कुशको महिमालाई हिन्दु धर्मको विभिन्न पुराणहरुमा पनि उल्लेख गरिएको पाइन्छ । हिन्दु धर्मावलम्बिहरुले आजको दिनलाई बुबाको मुख हेर्ने दिनका रुपमा मनाउदै आएका छन् ।

संस्कृतमा एउटा श्लोक छ–
मातृ देवो भब !
पितृ देवो भव !!
गुरु देवो भव !!!

अर्थात आमा, बुबा, गुरु, सबै भगवान हुन । कुशे औंशीलाई विशेष गरि बुबाको मुख हेर्नेको दिनको हिन्दु धर्मावलम्बीहरुले मनाउदै आएका छन् । आमाको मुख हेर्नेको दिन आमाको सम्झना, गुरु पुर्णिमाको दिन गुरुको सम्झना गरिए झै, आज कुशे औंशीको दिन बुबाहरुको विशेष दिनको रुपमा लिने गरीन्छ ।

हरेक बिहानीको सुरुवातसंगै दिन हुँदै बिस्तारैै बेलुकी एउटा साँझको रुपमा रूपान्तरित हुन्छ । त्यस्तै दिन र रातको क्रमसगै हामी पनि जिवनको रोलक्रममा बालकबाट वयस्क (युवा) अवसथामा पुग्छौं र विवहा गछौं । समयसंगै हामी कसैको बुबा, कसैको आमा, कसैका छोराछोरीको सम्बन्धको भुमरीमा बाधिन पुग्छौ ।

जुन सुकै धर्म सम्प्रदायको भए पनि हामीले पिताको हात समातेर तोते बोली बोल्दै पाइलाहरु चाल्न सिकेका हौं । यसरी ताते–ताते गरेर हिड्न, हिड्ने जन्म, कर्म दिने बाबु आमाले आफ्ना सन्तानका लागि दिनरात नभनी कडा परिश्रम गरेका हुन्छन् ।

पिताको शब्द, महिमा हामिले शब्दहरु जति लेखिएतापनी अपुरो नै हुने गर्छ । यसको ब्याख्या गर्न हामी स्वयं असम्भव छौ । तिनै पिताहरुको बुढेसकालको बलियो लाठिको सहारा बन्नको लागि हामी मध्यका धेरैले कडा परिश्रम पनि गरिरहेका छौ होला । माता र पिता नै यस संसारका देख्न सकिने भगवान हुन् । आजका दिन पृथ्वी लोकका सम्पुर्ण पिताहरुलाई कोटिकोटी नमन गर्दछु ।

तीनै छोराछोरी बढ्लान, हुर्कलान, कमाउलान अनि समाजमा आफ्नो एउटा छाप बनाएर बुढेसकालमा आफ्नो टेक्ने बलियो लठ्ठी हुन्छ्न भनेर हरेक आमा बुबाले आफ्ना सन्तानबाट अपेक्षा राखेका हुन्छन् । एउटा सामान्य मानव आधा जीवन राम्रो छोराछोरी र आधा जीवन राम्रो मातापिता बन्ने अभ्यासमै बित्छ ।

कर्तव्यको जिवन स्वरुपमा मातापिताको महत्व धेरै हुन्छन् । आफ्ना सन्तानको नौ महिना कोख भित्रको पीडासगै , जन्म दिदा, हुर्काउने क्रममा उनीहरुले लगाएका लुगाफाटाहरुमा दिसापिसाब, फोहोरमैला, हेरचाह गर्दै निकै कठिन हिसाबले हुर्काएका हुन्छन् । आफुले यसरी हुर्काएका बाल–बच्चाहरुले भबिस्यमा आफ्नो ख्याल राख्लान, माया गर्लान, सम्मान गर्लान भनी ठूलो आश हरेक आमा बुबाले बोकेका हुन्छ्न । हाम्रो सस्कारले नै हाम्रो जिम्मेवारीहरुलाई निकै सरल, सहज हिसाबले ब्याख्या गरिदिएको छ ।

हरेक धर्ममा आ–आफ्ना परम्परा जे जस्तो भए पनि आफ्ना मातापिता प्रतिको आदार, सम्मान, सत्कार र सामीप्यताको गुणगान जगतका सम्पुर्ण धर्म समुदायले गरेका छ्न ।

आजको दिन पिताको मुख, भौतिक शरिर हुनेले नँया वस्त्र, मिठाई खानेकुराहरु दिएर, नजिक नहुने टाढा हुनेहरुले प्रबिधिको प्रयोग गर्दै फोन, म्यासेज, सामाजिक संजालमा आफ्ना पिताहरुको तस्बिरहरु राखेर मनाउने गर्दछन् । आफ्ना पिताको भौतिक शरीर नहुनेहरुले आजको दिन विभिन्न तिर्थस्थलहरुमा पुगेर, पाठ, पुजा, श्रद्धा, पितृ पाठ गराएर सम्झना गर्ने गर्दछ्न ।

बढ्दो आधुनिकता सगै आफ्ना मातापितालाई वृद्ध आश्रममा राख्ने, समय र श्रोतको अभावले हेला गर्ने, अति झर्को फर्को गर्ने प्रवित्ति बढेको छ । तर , आफ्ना मातापितालाई हेला तिरस्कार गर्ने, चित्त दुखाउने कर्म जगतलाई पक्कै मान्य हुने छैन । हामी स्वयं एकदिन मातापिता हुन्छौं, तसर्थ हामिले जे गर्छौं हाम्रो आउदा भावी पुस्ताहरुले पनि आफ्ना बुबा आमा प्रति सोहि व्यबहार गर्नेछन । त्यो अवस्थाको भागिदार हामी आफै हुन पुग्दछौ । तसर्थ आउँदा पुस्ताहरुमा पनि पृतमोहका भावना अझै प्रगाढ पार्न आजको पुस्ताले पितृप्रतिको दायित्व पूरा गर्नुपर्ने हुन्छ । सो दाइत्व पुरा गर्नु आजको समयमा आवश्यकता झनै बढेर गएको छ ।

हाम्रा पिताहरुलाई माया गर्न न धर्मले बाधेको छ, न समयले नै छेकेको छ । आफ्ना पिताहरु जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुनछ उहालाई सम्मान गर्न सिकौं । आउदा पुस्ताहरुमा बुबालाई देखाउने मायाको प्रेरणा जगाउन हामी स्वयं अहिलेको युवा पुस्तालाई प्रेरित गरौं ।

सामाजिक सभ्यता, र सत्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुने हो ? हामी स्वयं असल छोराछोरी र असल आमा बुबा बन्न सिकौं !
कुशे औशिको सन्सार भर छरिएर रहनु भएका सम्पुर्ण पिताहरुलाई शुभकामना तथा शुभेच्छा व्यक्त गर्दछु ।

लेखकः रामकृष्ण शिवाकोटी

(विद्यार्थी नेता अनेरास्ववियू मकवानपुर र अध्यक्ष अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस समिति)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*