ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच गम्भीर घाइते

दार्चुला । दार्चलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । मार्मा गाँउपालिका– २ सेलभिसाबाट चामल र मानिस बोकेर मकरी जाँदै गरेको से ४ क ४०४७ नम्बरको ट्रयाक्टर रातापानीमा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा मार्मा गाउँपालिका– ६ का ४० वर्षीय गणेश धामीको मृत्यु भएको हो । घाइते हुनेमा मार्मा गाउँपालिका– १ का १६ वर्षीय विकास नेपाली, सोही स्थानका ५३ वर्षीय रामसिंह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का विरसिंह लोथ्याल गम्भीर घाइते भएका हुन् ।
पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।