चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा थपियो
चितवन । चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सुचना जारी गर्दै आउँदो भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थपिएको जनाएको हो ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले प्रशासनले निषेधाज्ञा लम्ब्याएको हो ।
निषेधाज्ञा लम्बिए पनि केहि खुकुलो बनाइएको छ । अब हरेक दिन १० बजेबाट १ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरू सञ्चालन गर्न छुट दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए।
बैंक संचालन गर्दा ५० प्रतिशत कर्मचारीलाई मात्र काममा खटाएर सामाजिक दूरी कायम गर्दै सेवा दिनुपर्ने बताइएको छ ।
साथै सरकारी कार्यालयहरूलाई पनि ५० प्रतिशत कर्मचारीलाई आन्तरिक कार्य सञ्चालन गर्न पाइने भएको छ । तर सवारी सञ्चालनका लागि कर्मचारीहरूले कार्यालयले जारी गरेको ड्युटी रोस्टर अनिवार्य लिनुपर्ने छ ।
त्यसैगरी, उद्योग परिसरभित्रै क्वारेन्टाइन निर्माण गरेर काम सञ्चालन गर्न पनि छुट दिइएको छ।
पशुपंक्षीको दाना, कृषि तथा पशुजन्य उपज र कृषि औजार ओसारपोसार, विद्युत, खानेपानी, टेलिफोन, इन्टरनेटलगायतका जनउपयोगी सेवा जडान र मर्मतका लागि उपकरणसहितका सवारी साधन सञ्चालन गर्न सकिने भएको छ ।
यसअघि भरतपुर महानगरपालिकाले साउन ३० गतेदेखि एक हप्ताका लागि महानगरमा निषेधाज्ञा गरेको थियो।
साउन ५ गतेबाट जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी गर्दै शुक्रबार राति १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्यो।










