सुत्केरीलाई जबर्जस्ती आइसोलेसन

एकै परिवारका दुई सुत्केरी, वृद्धा र बालबालिकासहित १४ संक्रमित
हेटौडा न्युज
१४ भाद्र २०७७, आईतवार १०:५२
;

भक्तपुर  ।  जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले होम आइसोलेसनमा राखेकी चार दिनकी सुत्केरीसहितको एक परिवारलाई स्थानीय बासिन्दा र जनप्रतिनिधिले जबर्जस्ती आइसोलेसन सेन्टर पठाएको पाइएको छ ।

मध्यपुर थिमि नगरपालिका–९ का स्थानीयवासी र जनप्रतिनिधिले संक्रमितलाई घरमा राखेको भन्दै विरोध गरेपछि स्वास्थ्यकर्मीले चार दिन र साढे दुई महिनाका दुई सुत्केरीसहितलाई शुक्रबार खरिपाटीस्थित आइसोलेसन सेन्टरमा पठाएका हुन् । बिहीबार मध्यपुर थिमि नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना देखिएको थियो । संक्रमित हुनेमा सुत्केरीदेखि ७५ वर्षीया वृद्धासम्म छन् । आइसोलेसन सेन्टरमा पुगेका उनीहरूलाई स्याहार नपुग्ने भन्दै शुक्रबार राति नै पुनः घर फिर्ता गरिएको छ ।

‘जनप्रतिनिधि र स्थानीय मिलेर संक्रमित सुत्केरी र वृद्धालाई आइसोलेसन पठाएका रहेछन्, आइसोलेसनमा स्याहार नपुग्ने भएपछि फेरि फर्काइएको छ,’ महानगरीय प्रहरी वृत्त थिमिका डीएसपी ऋषिराम कँडेःलले भने, ‘चार दिनकी सुत्केरीलाई समेत आइसोलेसन पठाइनु मानवीय संवेदना हराएको उदाहरण हो ।’ आफूहरूले वडाध्यक्षलाई फोन गरेर सुत्केरीलाई सहयोग उपलब्ध गराइदिन आग्रह गरेको उनले बताए । उनीहरूलाई आइतबार सहयोग सामग्री प्रदान गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

आइसोलेसनमा सुत्केरीको स्याहार नपुग्ने भएकाले घरमै फिर्ता गर्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए । स्थानीयको दबाबमा स्वास्थ्यकर्मीले सुत्केरीसहित सबै संक्रमितलाई आइसोलेसनमा पठाएको उनले बताए । ‘तिमीहरू आइसोलेसनमा जाऊ भनेर गाउँलेले पठाएछन्, उनीहरूलाई केही लक्षण पनि छैन, हाम्रा स्वास्थ्यकर्मीले पनि गाउँलेकै कुरा सुनेछन्,’ उनले ने, ‘आइसोलेसनमा राख्दा सुत्केरीलाई स्याहार पुग्दैन भनेर घरमै फिर्ता गर्‍यौं ।’

रामेछाप स्थायी घर भएको उक्त परिवार कृषि विकास बैंकको तालिम केन्द्रनजिकै जग्गा भाडामा लिएर छाप्रो बनाई बसिरहेको छ । सामान ट्रान्सपोर्ट व्यवसाय गर्ने पुरुषमा भदौ ४ मा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत छन् । भदौ ८ मा उनकी छोरी सिभिल अस्पतालमा सुत्केरी भइन् र भोलिपल्टै डिस्चार्ज भइन् । बुबालाई कोरोना लागेको थाहा पाएपछि अस्पतालले पीसीआर परीक्षणका लागि उनलाई १० गते बोलायो । ५ हजार ५ सय रुपैयाँ तिरेर पीसीआर गरिन् । ११ गते उनको रिपोर्ट पोजिटिभ आयो ।

त्यसअघि भदौ ७ मा नागरिक अस्पतालमा ५ जनाको पीसीआर परीक्षण गरिएको थियो भने ९ गते वडाले परिवारका अन्य १० जनाको कोरिया–नेपाल मैत्री अस्पतालमा पीसीआर गरायो । सबैको रिपोर्ट ११ गते नै आयो । १३ जनामा संक्रमण देखियो । ‘बुबालाई लक्षण देखिएपछि एक साता घरमै बस्नुभयो, पैसा तिरेर पीसीआर गरिएको थियो, पोजिटिभ देखियो,’ संक्रमितका ज्वाइँले भने, ‘उहाँको पाटन अस्पतालमा उपचार भइरहेको छ ।’ उनी पनि संक्रमित छन् ।

सुरुमा कोरोना पुष्टि भएका पुरुषकी आमा, श्रीमती, ५ छोरी, ज्वाइँ, साढे दुई महिनाका नाति र ९ वर्षीया नातिनी संक्रमित छन् । उनीहरू एउटै छाप्रोको दुईवटा कोठामा र अर्को छाप्रोमा वृद्धकै छोरी नाता पर्ने एक जना र दुई नाति बसेका थिए । कोरोना पुष्टि भएको रिपोर्ट आएकै दिन जनस्वास्थ्य कार्यालय भक्तपुरबाट फोन गरेर घरमै बस्न भनिएको थियो ।

‘फोनमा सबैको अवस्था सोधियो । सुत्केरी र वृद्धा भएको जानकारी गरायौं । फोन गर्ने व्यक्तिले जहाँ जुन अवस्थामा बसेका छन्, त्यहीं बस्न भनियो,’ संक्रमित पुरुषले भने, ‘शुक्रबार त हामीलाई लिन १०२ नम्बरको एम्बुलेन्स पो आयो । जनस्वास्थ्यले हामीलाई घरमै बस्नु भनेको छ नि भन्यौं तर एम्बुलेन्सले मानेन । चार दिनकी सुत्करी र ७५ वर्षीया वृद्धासहित १४ जना संक्रमितलाई खरिपाटी लग्यो ।’

कसको दबाबमा उनीहरूलाई आइसोलेसनमा पठाइयो, उनीहरूलाई पनि जानकारी छैन । ‘सबैले वडा कार्यालयले भनेपछि एम्बुलेन्स आएको भन्ने गरेका छन्,’ उनले भने, ‘यो रोग हामीलाई मात्रै होइन, अरूलाई पनि लाग्न सक्छ । विरोध होइन हामीलाई माया र सद्भाव चाहिएको छ ।’ एम्बुलेन्समा राखेर खरिपाटी पुर्‍याइएका सुत्केरी र वृद्धा महिलालाई देख्नेबित्तिकै त्यहाँका कर्मचारी आत्तिएको ती पुरुषले बताए । ‘तपाईंहरूलाई यहाँ स्याहार हुँदैन, कसले पठाएको हो भन्न थाले । दिउँसो साढे तीन बजे बोडेबाट गएका थियौं । बेलुका साढे ८ बजे फर्काइदिए,’ ती पुरुषले भने ।

स्थानीय रघु खड्काले स्थानीयले संक्रमितलाई सहयोग गरिरहेको बताए । ‘उनीहरूलाई खानेकुरा मैले नै बाहिरबाट लगिदिइरहेको छु,’ उनले भने, ‘स्थानीयले विरोध गरेजस्तो लाग्दैन । उनीहरूलाई लिन एम्बुलेन्स आएपछि मात्रै मैले पनि थाहा पाएँ ।’ मध्यपुरथिमि नगरपालिका–९ का अध्यक्ष रामकाजी चक्रधरले सही नियतले काम गर्दा गलत सन्देश गएको बताए । ‘टोलवासीले संक्रमित बस्ने टहरा व्यवस्थित नभएको, सबैले एउटै ट्वाइलेट प्रयोग गर्ने र सुत्केरीको स्याहार नपुग्ने भएकाले व्यवस्थापन गरिदिन आग्रह गरेकाले मैले आइसोलेसनमा पठाउने व्यवस्था गरिदिएको हुँ,’ उनले भने, ‘तर अहिले त संक्रमितलाई वडा र समुदायले निकालेर पठाएको भन्ने पो नकारात्मक सन्देश गयो ।’

स्रोतः कान्तिपुर राष्ट्रिय दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*