मकवानपुरको मनहरीमा बृहद् रक्तदान कार्यक्रम हुने
मकवानपुर । मकवानपुरको मनहरीमा बृहद् रक्तदान कार्यक्रम हुने भएको छ । ५८ औँ रेडक्रस स्थापना दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी मनहरी गाउँपालिका कमिटी र मनहरी एफएमले नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखासँग समन्वय गरी यही भदौ २० गते रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।
कोरोना संक्रमणका कारण अन्य औपचारिक कार्यक्रमहरु आयोजना गर्न नमिल्ने भएकाले सामुदायिक रेडियो मनहरी एफएमको संयोजन र समन्वयमा रक्तदान गरेरै यो वर्ष ५८ औँ रेडक्रस दिवस मनाउन लागिएको हो ।
मनहरी गाउँपालिका – ७ स्थित मनकामना मन्दिर परिसरमा स्वास्थ्य सुरक्षा विधि अपनाई भौतिक दुरी कायम गरी रक्तदान आयोजना गर्न लागिएको एकेडेमीका अध्यक्ष पुकार सुवेदीले बताए ।
कोभिड १९ को प्रकोपका कारण देशभर रगतको अभाव भइरहेकाले मनहरीमा रक्तदान आयोजना गरी सामाजिक रुपमा योगदान गर्न खोजिएको जनाएको छ ।










