कुलमान घिसिङलाई पुनः नियुक्ति दिन ऊर्जा मन्त्रालयले पठायो प्रस्ताव, प्रधानमन्त्री ओली सकारात्मक

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार ११:३९
;

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिन अब पाँच दिन मात्र बाँकी छ । भदौ २९ गते उनको चार वर्षे कार्यकाल सकिँदैछ । तर, यतिबेला नेपाली जनतामा कुलमानलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक पुनः नियुक्ति गरिन्छ कि गरिन्न भन्ने चासो देखिएको छ ।

दुई साताअघि नै कुलमानलाई सरकारले पुनः नियुक्ति दिएको फेक न्युज आएपछि सरकार उनीसँग असन्तुष्ट बनेको थियो । त्यसपछि कुलमानले आफ्नो नाममा फेक एकाउन्ट खोलेर आफूलाई बदनाम गरिएको भनेर स्पष्टीकरण मात्र दिएनन्, मुलुकमा लोडसेडिङ घटाउन प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशन रहेको भन्दै आफूले मात्र काम नगरेको बताए । त्यसपछि मात्र सरकार उनीसँग नरम बनेको थियो ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यम मात्र होइन, नागरिकस्तरमै कुलमानलाई पुनः नियुक्ति दिनुपर्ने भन्दै लबिङ गरेपछि ऊर्जामन्त्री वर्षमान पुनले केही समयअघि कुलमानलाई पुनः नियुक्ति दिनेबारे सरकारले गृहकार्य गरिरहेको रहस्य सार्वजनिक गरेका थिए ।

सोमबार मात्र बालुवाटारमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि कुलमानलाई प्राधिकरणमा पुनः ल्याउनेबारे छलफल भएको बताइएको छ । जनस्तरबाटै धेरै दबाब आएकाले त्यसको विपरीत जान नसक्ने प्रचण्डको सुझावलाई प्रधानमन्त्री ओलीले पनि सकारात्मक लिएको खुमलटार स्रोतले बताएको छ । बिहिबार बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीले प्रस्ताव लैजान सोमबार मन्त्रालयले फाइल उठाएको छ।

चार वर्षअघि प्रचण्ड नै प्रधानमन्त्री भएका बेला कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । उनी आउँदा मुलुकमा १५–१६ घन्टासम्म लोडसेडिङ थियो । भारतबाट ४५० मेगावाट खरिद गरेर भए पनि लोडसेडिङमुक्त बनाइएको छ । स्रोतः क्यानाडा नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*