दशैंमा पनि नआउने भयो मेलम्चीको पानी

काठमाडौं । बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौं उपत्यकाको दशकौं पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा लिइएको सो आयोजनाको काम ९७ प्रतिशतभन्दा पूरा निर्माण भइसकेर पनि पानी काठमाडौं कहिले आउने हो भन्ने अझै निश्चित छैन ।
केपी ओली नेतृत्वको सरकार बनेलगत्तै काठमाडौंवासीले मेलम्चीको पानी खान पाउने घोषणा गरिएको थियो ।
प्रधानमन्त्री ओली मात्रै होइन, खानेपानीमन्त्री विना मगरले तीन महिनाअघि मात्रै दशैंसम्म पानी काठमाडौंवासीले खान पाउने बताएकी थिइन् ।
अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पुर्याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ।
खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले मेलम्चीको पानी खसाल्ने गेट बनाउनुपर्ने भएकाले भाका सारिएको बताएका छन् ।